काठमाडौं- सरकारले नयाँ संरचना अनुसार जिल्लामा रहेका जनस्वास्थ्य तथा स्वास्थ्य कार्यालयहरुको समय असारसम्म कायम राख्ने तयारी अगाडि बढाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्ला जन/स्वास्थ्य कार्यालय खारेज हुँदा स्वास्थ्यका कार्यक्रम प्रभावित हुने भन्दै असारसम्म कायम राख्ने प्रस्ताव मन्त्रीपरिषद्मा लग्न लागेको हो। नयाँ संरचना अनुसार चैत २८ गतेबाट देशभरका जिल्ला स्वास्थ्य कार्यालय खारेज हुने व्यवस्था छ।
शिक्षा मन्त्रालयले जिल्ला शिक्षा कार्यालयको समय थप गरेजस्तै तत्काललाई स्वास्थ्यका कार्यालयको समय पनि असारमसान्त सम्म थप्ने प्रस्ताव बनाइएको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।
जिल्ला कार्यालयहरुबाट हुँदै आइरहेका जनस्वास्थ्यका कार्यक्रमहरु जस्तै, खोप, मातृशिशु स्वास्थ्य, परिवार नियोजनका साधन तथा निस्शुल्क औषधि वितरण लगायतका कार्यक्रममा अवरोध हुने देखिएपछि स्वास्थ्य मन्त्रालयले तत्काल कार्यालय खारेज नगरी समय थप्ने प्रस्ताव बनाएको मन्त्रालयको नीति योजना तथा अन्तराष्ट्रिय समन्वय महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए।