काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले चौथो शिखर सम्मेलन गर्ने भएको छ। सम्मेलन भोलीबाट सुरु हुनेछ।
दुई दिनसम्म चल्ने सम्मेलनमा यसपटक ‘नेपालको बदलिँदो स्वास्थ्य प्रणालीको लागि उच्च स्तरीय अनुसन्धान’ भन्ने नारा तय गरिएको छ। एक हजार भन्दा बढी सहभागि रहने उक्त सम्मेलनमा विभिन्न ८ विधाहरुमा प्रस्तुति रहने परिषद्का कार्यकारी अध्यक्ष डा अन्जनीकुमार झाले जानकारी दिए।
डा झाका अनुसार परिषद्ले आफ्नो स्थापनाको २७ औं वर्ष पूरा गरी २८ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सम्मेलनको आयोजना गरेको हो। स्वास्थ्य तथा जनसंख्या विज्ञहरुलाई एउटै थलामो भला गरी बदलिँदो स्वास्थ्य प्रणालीमा समय सान्दर्भिक अनुसन्धानको आवश्यकताको बारेमा छलफल गर्न तथा जिम्मेवारीपूर्ण अनुसन्धानकार्य गर्न अभिप्रेरित गर्ने लक्ष्य अनुसार सम्मेलन आयोजना गरिएको अध्यक्ष झाले बताए।
सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित विषयमा अनुसन्धानकर्ताहरुले आफ्नो खोज तथा अनुसन्धानका बारेमा ६५ वटा अनुसन्धानको मौखिक प्रस्तुती तथा ६७ पोष्टर प्रस्तुती हुनेछ। जसमध्ये ८ वटा आमन्त्रित विज्ञहरुबाट संघीयतामा स्वास्थ्य अनुसन्धान, नेपालमा संचालन भइरहेका स्वास्थ्य अनुसन्धान सम्बन्धी गतिविधिको बारेमा जानकारी, नेपालमा नसर्ने रोग र गरिबीको बारेमा प्रस्तुतिकरण तथा छलफल हुनेछ।
सम्मेलन बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा हुनेछ।