चौथो राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन सम्पन्न भएको छ । नेपाल हेल्थ रिसर्च काउन्सिल (एनएचआरसी)को आयोजनामा भएको सम्मेलनले ७ बुँदे घोषणा पत्र जारी गर्नुका साथै ६ जना अनुसन्धानकर्तालाई पुरस्कृत गरेको छ ।
मिर्गेन्द्र मेमोरियल मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धान अवार्ड (क्लिनिसियन)बाट डा सुनिल मुनाकर्मी पुरस्कृत भएका छन् । यसैगरी मिर्गेन्द्र मेमोरियल हेल्थ रिसर्च आउटस्ट्यान्डिङ अवार्ड (एनएचआरसी भित्रका अनुसन्धानकर्ता)बाट डा मेघनाथ धिमाल र डा दिनेश न्यौपाने पुरस्कृत भएका छन् ।
यसैगरी जर्नल अफ नेपाल हेल्थ रिसर्चबाट विष्णुप्रसाद उपाध्याय, बेस्ट पेपर अवार्डबाट बुना भट्टराई र बेस्ट पेपर अवार्डबाट स्मृति पन्त पुरस्कृत भए । एनएचआरसीमै कार्यरत मध्येबाट निर्भय कुमार शर्मा उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत भए ।
संघीय संरचना अनुसार विभिन्न क्षेत्र र जनसँख्याका लागि चाहिने स्रोत साधन, संस्थागत र व्यक्तिगत विज्ञताका विषयमा अनुसन्धान गर्ने र युनिभर्सले हेल्थ कभरेजलाई सहयोग पुग्ने गरी स्वास्थ्य प्रणाली सुधार्न अनुसन्धानलाई निरन्तरता दिने विषय जारी घोषणा पत्रमा उल्लेख छ ।
स्वास्थ्य अनुसन्धानलाई बढावा दिन राजनीतिक लबिङ गरिरहने, अनुसन्धानका नतिजालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा लागु गराउन पहल गर्ने र अनुसन्धान गर्ने परिपाटीको विकास गर्ने कुरामा सहभागीहरुले ऐक्यवद्धता जनाएका छन् ।
युवा वैज्ञानिक र अनुसन्धानकर्तालाई अनुसन्धानमा सहभागी भइरहने खालको वातावरण विकासमा ध्यान दिने र अनुसन्धानका क्षेत्रमा कार्यरत विभिन्न विज्ञ, शिक्षाविद्, अनुसन्धान गरिरहेका संस्थासँग उपलब्धिमूलक सहकार्य गर्नेमा पनि सहभागीहरुको मतैक्य छ ।