धनबहादुर क्षेत्री
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक हुन लागेको सिनेट बैठक सरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण चैत ३० गते २ बजेका लागि तोकिएको बैठक बैसाख १ गतेका लागि सरेको हो। प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार प्रधानमन्त्री डोल्पा हुँदै जुम्ला सिनेट गरेर रारा तालमा बस्ने गरी कार्यतालिका बनाइएको थियो। पछिल्लो समयमा पोखरा भएर आउने भएकाले सिनेट भ्याउन नसकिने भएकोले एक दिन पछि सारिएको उनले बताए।
बैसाख १ गते रारा तालमा कर्णाली रारा पर्यटन महोत्सव २०७५ को उद्घाटन गरेर जुम्लामा सिनेट बसेर प्रधानमन्त्री फर्कने कार्यतालिका तय भएको छ।
सिनेट बैठकमा कर्णाली प्रदेशका जिल्लाहरुमा विशेषज्ञ स्वास्थ सेवा विस्तार गर्ने, जुम्लाको मातहतामा रहने प्रत्येक कर्णाली प्रदेश र कार्यक्षेत्र बझाङ, बाजुरा, अछाम जिल्लामा मेडिकल शिक्षण अस्पतालका रुपमा विस्तार गर्ने, भौतिक पूर्वाधार निर्माणका लागि उपलब्ध भइरहेको जग्गा व्यवस्थापनका लागि दोस्रो पञ्चवर्षीय योजनालाई संशोधन सहित पारित गर्ने एजेण्डा अघि सारिएको छ।
यस्तै कर्णाली एमबिबिएस, एमडिएमएस कार्यक्रम सञ्चालनका नेपाल मेडिकल काउन्सिल स्वास्थ्य मन्त्रालय लगायत सरोकारवाला निकायमा नीति निर्माण प्रतिष्ठानलाई सहयोग गर्नुपर्ने सहितको प्रस्ताव बैठकमा पेस हुन लागेको रजिष्ट्रार काफ्लेले बताए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको केन्द्रीय कार्यालय जुम्लामै भएको र प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकले शैक्षिक र भौतिक विकासमा टेवा पुग्ने आशा गरिएको छ।
यो बैठकले कर्णाली प्रदेशको जुम्लालाई मेडिकल राजधानीका रुपमा स्थापित गरी स्वास्थ्य पर्यटनको प्रवर्द्धन हुने सरोकारवालाले विश्वास लिएका छन्।
प्रतिष्ठान २०६८ कात्तिक ३ गते स्थापना भएको हो। अहिले २२ जना विशेषज्ञ चिकित्सक, १५ जना मेडिकल अफिसरले यहाँ स्वास्थ्य सेवा दिइरहेका छन्। प्रतिष्ठानले कर्णालीका साविकका ५ वटै जिल्लामा विशेषज्ञ सेवा सञ्चालन गरिसकेको छ भने आगामी वर्षमा प्रदेशका सबै जिल्लामा विशेषज्ञ सेवा विस्तार गर्न योजना निर्माण भइसकेको छ।
शैक्षिकतर्फ यहाँ स्टाफ नर्स र एचए पढाइ सुरु भएको छ। ब्याचलर इन मिडवाइफ्री सञ्चालनको लागि अन्तिम तयारी भइरहेको छ। यसका लागि पाठ्यक्रम निर्माण भई कार्यन्वयन गर्ने चरणमा छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकका लागि स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल सहितको टोली जुम्ला पुगिसकेको छ। अहिले जुम्ला अस्पतालले हाडजोर्नी, एनेस्थेसिया, मेडिसिन, अर्थो, एमडिजिपी, गाइनो, बालरोग विशेषज्ञ र जनरल सर्जन लगायतका सेवा प्रदान गर्दै आएको छ।