दन्त उपचारको क्षेत्रपछि जलेका, मधुमेह, दुर्घटना, नसाका कारण उत्पन्न घाउ तथा अन्य पुराना घाउको उपचारमा एलपिआरएफ (ल्युकोसाइट–प्लेटलेट रिच फाइब्रिन) प्रविधिबाट उपचार भइरहेकोमा पछिल्लोपटक कुष्ठ रोगका कारण भएका घाउमा समेत यो प्रविधि निकै उपयोगी साबित भएको छ।
आनन्द वन अस्पतालमा रहेका कुष्ठ रोगका बिरामीका घाउमा चामत्कारिक सुधार आएपछि अहिले अस्पताललाई म्यानमारमा समेत यो प्रविधिबारे तालिम उपलब्ध गराउन प्रस्ताव आइसकेको छ। अस्पतालका निर्देशक डा इन्द्र नापितले यसका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए।
डा पिन्टोले चिलीमा यो विधि प्रयोगमा ल्याए पनि कुष्ठरोगका घाउमा भने त्यति धेरै प्रयोग भइरहेको थिएन। चिलीसँगै नजिकै रहेको ब्राजिलमा विश्वमै सबैभन्दा धेरै कुष्ठरोगी छन् र उनीहरुमा घाउको समस्या अत्यधिक छ। नेपालले कुष्ठरोगका घाउमा यसको प्रयोगबाट पाएको सफलतापछि डा पिन्टो पनि हर्षित छन्। उनले यो विधिलाई नेपालले नेतृत्वदायी भूमिका खेल्दै ब्राजिल लगायतका देशमा तालिम उपलब्ध गराउन सक्ने बताए।
कुष्ठरोग भएका स्थानमा छोएको, ठोक्किएको वा चोटपटक लागेको थाहा नहुने हुँदा बिरामीको घाउ ठूलो र जटिल भएपछि मात्र उपचारमा आउने हुन्छन्। ‘दुखाइ भएका घाउमा मात्र नभई घाउ भएको चाल नै नपाएर ठूलो र दीर्घ घाउ लिएर बसेका कुष्ठरोगका बिरामीका लागि पनि यो प्रविधि उपयोगी बनेको छ,’ डा नापितले भने।
चिलीबाट सुरु भएको यो प्रविधि नेपालको दन्त चिकित्सामा लामो समयदेखि उपयोग हुँदै आए पनि घाउको उपचारमा भने दुई वर्षदेखि मात्र प्रयोग गर्न थालिएको हो। नेपालमा भने दन्तरोग विशेषज्ञ डा सुशील कोइरालाको अगुवाईमा पुण्यार्जन फाउन्डेसनले यो प्रविधि नेपाल भित्र्याएको हो। डा कोइरालले चिलिका प्राध्यापक डा नेल्सन आर पिन्टोलाई नेपालमा ल्याएसँगै नेपालमा पनि यो प्रविधिमार्फत घाउको उपचार हुन थालेको हो।
डा कोइराला एलपिआरएफ प्रविधिमा नेपाललाई दक्षिण एसियाकै केन्द्र बनाउने लक्ष्य राखेको बताउँछन्। दक्षिण एसियामै नेपाल पहिलो एलपिआरएफ प्रविधिमार्फत जटिल र पुराना घाउको उपचार गर्ने मुलक भएकाले नेपाललाई यसको ‘हब’ बनाउन सकिने उनको विश्वास छ।
यो प्रविधिबाट गरिने उपचार पद्धति सिक्न बंगलादेश र म्यान्मारबाट प्रशिक्षार्थी नेपाल आएको उनले बताए। ‘यसबाट प्रभावकारी उपचार हुन्छ भन्ने थाहा पाएपछि बंगलादेश र म्यानमारबाट समेत स्वास्थ्यकर्मी नेपाल आएका छन,’ उनले भने। यो प्रविधि सस्तो हुने र सानो मेसिनको सहायताले उपचार गर्न सकिने भएकाले घरघरमा पुगेर पनि सेवा दिन सकिने फाउन्डेसनले जनाएको छ।