वीर अस्पतालले ट्युमरदेखि क्यान्सर सम्मका रोग पत्ता लगाउने अत्याधुनिक प्रविधिसहितको एन्डोब्रोन्कियल अल्ट्रासाउन्ड मेसिन प्रयोगमा ल्याएको छ।
नेपालमै पहिलो पटक भित्र्याइएको उक्त मेसिनबाट छातीमा नदेखिने गरी बसेको फोक्सोको क्यान्सर, क्षयरोगका साथै ट्युमरहरु पत्ता लगाउन सहज हुने छाती रोग विशेषज्ञ डा अशेष ढुंगानाले जनाए। उनका अनुसार एक साताअघि जापानबाट ल्याइएको यो प्रविधिबाट अहिलेसम्म सात जना बिरामीको रोग पत्ता लगाइसकिएको छ।
यो प्रविधि भित्रिएसँगै विभिन्न खालका जटिल रोग पत्ता लगाउन विदेश जानुपर्ने अवस्थाको अन्त्य भएको डा ढुंगानाले बताए। उनले भने, ‘एक वर्षको अन्तरालमा हामीले ४० देखि ५० जना बिरामीलाई भारत रिफर गर्यौं, अब भने नेपालमै परीक्षण गर्न सम्भव भएको छ।’ उनका अनुसार अल्ट्रासाउन्ड गर्दा ब्रोन्कोस्कोपमै जडान गरेर गर्ने परीक्षण पद्धति हो, एन्डोब्रोन्कियल अल्ट्रासाउन्ड।
यसले ब्रोन्कोस्कोपका माध्यमबाट गरिने अल्ट्रासाउन्ड प्रविधिले पत्ता लगाउन नसकेको रोग पत्ता लगाउँछ। ‘हामीसँग यसअघि भएका प्रविधिमा यस्ता खालका जटिल रोग पत्ता लगाउन सहज थिएन,’ डा ढुंगानाले भने, ‘अब हाम्रै अस्पालमा छातीभित्र नदेखिने गरी बसेका क्यान्सरसम्मका रोगलाई पत्ता लगाउन सकिन्छ।’
नेपालमा यो प्रविधि ल्याउन १५ वर्ष लागेको ढुंगानाले बताए। यो प्रविधि महँगो हुनुका साथै यसलाई सञ्चालन गर्ने जनशक्ति नहुँदा लामो समय कुर्नुपरेको उनको भनाइ छ। एन्डोब्रोन्कियल अल्ट्रासाउन्ड मेसिनको मूल्य दुई करोड रुपैयाँसम्म पर्ने अस्पतालले जनाएको छ। विरामीले यो सेवा लिएबापत १५ हजार रुपैयाँ तिर्नुपर्छ।