बुटवल- सुकुम्बासी बस्तीले भरिएको बुद्धनगरका ८६ वर्षीय नरबहादुर आले लामो समयदेखि शरीर चिलाएर हैरानीमा थिए। आफै हिँडेर अस्पतालसम्म जान सक्ने उनको क्षमता थिएन। केही समयदेखि छालासम्बन्धी रोगबाट उनी थलिएका थिए।
उनका छिमेकी ७० वर्षीय गोपीराम परियार तथा ५० वर्षीय कृष्णबहादुर अर्गेली मगरलाई पनि त्यस्तै समस्याले पिरोलिहेको छ। उनीहरु पनि लामो समयदेखि शरीर चिलाउने समस्याबाट ग्रस्त छन्।
कुनै जमघटमा कसैले बुद्धनगरमा छाला सम्बन्धी समस्याका धेरै बिरामी रहेको कुरा सुनाएपछि वडा अध्यक्ष तथा उप–महानगरपालिका प्रमुख शिवराज सुवेदीले स्वास्थ्य शिविर राख्न चासो देखाएका थिए। प्रमुख सुवेदीले तत्कालै स्वास्थ्य इकाइका डाक्टर रमेश केसी र नगर स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुलाई शिविर राख्न निर्देशन दिए।
सोही अनुरुप बुद्धनगरमा छाला तथा यौनरोग विशेषज्ञसहितको स्वास्थ्यकर्मीको टोली लिएर नगर प्रमुख सुवेदी आफै बुद्धनगर पुगेका थिए। त्यस क्रममा त्यहाँ उनले पैसाका अभावमा कुनै पनि नागरिकले प्राथमिक औषधि उपचारको सेवाबाट वञ्चित हुनु नपर्ने गरी आफुहरुले कार्यक्रम बनाएको बताए।
लुम्बिनी अञ्चल अस्पतालमा छाला तथा यौन रोगका विशेषज्ञ डाक्टर श्यामराज उपाध्याय र अञ्जना काफ्लेसहित स्वास्थ्यकर्मीहरु पदम अर्याल, अभिनाश अधिकारी, ज्योति शर्मा, शोभा राना, विन्दु अर्याल तथा खिमबहादुर पौडेलसहित स्वास्थ्य स्वयंसेविका र सहयोगीहरु शिविरमा खटिएका थिए।
बुुद्धनगरका अधिकांशमा छाला सम्बन्धी रोगको समस्या रहेछ। खासगरी सरसफाइको कमी, फोहरजन्य पानीको प्रयोग लगायतका कारणले फंगल इन्फेक्सनका धेरै बिरामीहरु रहेको चिकित्सकहरुले बताए। उनीहरुलाई चेक जाँच गरेर नि:शुल्क रुपमा औषधिसमेत दिइएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए।
चेकजाँच गरिएका दुई सय ४७ जना बिरामीमध्ये अधिकांशमा दाज सम्बन्धी समस्या पाइएको वडा नं. ११ का नगर स्वास्थ्य केन्द्रका अधिकारी पदम अर्यालले जानकारी दिए। फंगल इन्फेक्सन एक प्रकारको दाज र सरुवा प्रकृत्तिको रोग हो। यही समस्यामा त्यहाँका अधिकांश मानिस प्रभावित भएको उनले बताए। त्यस्तै ड्रमटाइटिस, भर्सीकुलारी, लिम्फमा तथा पोरियासी नामक छालासम्बन्धी रोग शिविरमा आएकाहरुमा देखिएको उपमहानगरका स्वास्थ्य इकाइ प्रमुख डा. केसीले बताए।
उपमहानगरले यसअघि १९ वटै वडाका प्रत्येक टोलमा पुगेर ज्येष्ठ नागरिकहरुको नि:शुल्क स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको थियो। यसअघि उपप्रमुख गुमादेवी आचार्यको नेतृत्वमा नगरका ९५ वर्ष उमेर समूहका सबै ज्येष्ठ नागरिकहरुलाई घरमै पुगेर एक हजार नगद र पौष्टिक आहार वितरण गरिएको थियो।
दुई दिनअघि बुटवल–२ मा ज्येष्ठ नागरिकहरुको आँखा जाँच गरी औषधि र चस्मा वितरण गरिएको बताउँदै उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत राजनकुमार बिसीले यो स्वास्थ्य शिविर नियमित जारी रहने बताए।