स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले कानुन विपरीत चुरोट उत्पादन गर्दै आएको सूर्य टोबाको कम्पनीलाई एक साताभित्र कारबाही गर्ने बताएकी छन्।
‘जनस्वास्थ्य प्रवर्द्धन : सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन विषय’मा राजधानीमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले उक्त कम्पनीले सरकारले तोकेको ९० प्रतिशत चेतावनीमूलक चित्र नछापेको भन्दै कानुनभन्दा माथि कोही नहुने भएकाले कारबाही गर्ने बताएकी हुन्।
‘सरकारले ल्याएको नियम मान्दिनँ भनेर कोही पनि उम्कन पाउँदैन’, उनले भनिन्, ‘तीन वर्षदेखि कानुनको अटेरी गर्ने सूर्य चुरोटले अब छुट पाउँदैन। हामी कारबाही गर्छौं।’
उनले तीन वर्षदेखि कम्पनीलाई संरक्षण गर्दै आउनेहरुका विषयमा पनि पत्ता लगाएर सार्वजनिक गर्ने चेतावनी दिएकी छन्।
राज्यमन्त्री अर्यालले यसअघि बनाइएका नीति-नियम पूर्ण कार्यान्वयनमा जोड दिँदै सूर्तीजन्य पदार्थको नियन्त्रणका लागि थप नयाँ नीति अख्तियार गर्नसक्ने तर्फ पनि संकेत गरेकी छिन्।
स्वास्थ्य राज्यमन्त्रीको पदबहाल गरेदेखि नै सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमनमा उनी सक्रिय रुपमा लाग्दै आएकी छन्।
सूर्तीजन्य पदार्थको विरुद्धमा विश्वव्यापी अभियानमा लागेको संस्था द युनियनका एसिया प्यासिफिक कार्यालयका उप-निर्देशक डा तारासिंह बमले नीति-नियम बन्ने तर कार्यान्वयन नहुने प्रवृति देखिएको बताए।
‘नेपालको कर्मचारीतन्त्र हुन्छबहादुर भयो’, उनले भने, ‘तर हुनुपर्ने काम चाहिँ भएन।'
उनले राजनीतिज्ञहरुले पनि सूर्ती उद्योगहरुकै हितमा काम गरिरहेको आरोप लगाए। ‘राजनीतिज्ञ तथा केही मन्त्रीहरुले सूर्ती उद्योगलाई रेड कार्पेट ओछ्याएका छन्’, उनले भने, ‘जसका आडमा सूर्ती उद्योगहरुले हाकाहाकी नेपालको कानुनलाई चुनौती दिइरहेका छन्।
एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले विदेशी र अन्य स्वदेशी उद्योगले ९० प्रतिशत चित्र छापे पनि सूर्य चुरोटले भने अटेरी गरिरहेको बताए। उनले कानुनको अटेरी गर्दा समेत सरकार चुप लागेर बसेको भन्दै सरकारको आलोचना गरे।
सूर्य चुरोटको अटेरी
सरकारले सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्सपेटी तथा पार्सलमा ९० प्रतिशत चेतावनीमूलक सन्देश चित्र तथा अंकित गर्नुपर्ने बाध्यकारी कानुन कार्यान्वयनमा ल्याएको छ। यसका लागि स्वास्थ्य मन्त्रालयले निर्देशिका नै जारी गरेको छ। मन्त्रालयले सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ लाई कार्यान्वयन गर्न २०७२ जेठ १ गतेदेखि निर्देशिका कार्यान्वयनमा ल्याएको थियो।
तर, सूर्य चुरोटले हालसम्म पनि उक्त कानुन पालना गरेको छैन। सूर्यले ३ वर्षदेखि उक्त नियम विपरीत ७५ प्रतिशत भागमा मात्र चेतावनीमूलक सन्देश छाप्दै आएको छ। ९० प्रतिशत चेतावनीमूलक सन्देश छाप्ने नियम अरु सबै उद्योगले कार्यान्वयनमा ल्याएका छन्। तर, सूर्यले भने पहुँच र दबावका भरमा कानुनको उल्लंघन गर्दै आएको छ।
कानुनको अटेरी गरिरहेको पाइएपछि स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रले उद्योग मन्त्रालयलाई पटक-पटक पत्र पठाएको छ। तर, अझैसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन।
सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्सपेटी तथा पार्सलमा ९० प्रतिशत चेतावनीमूलक सन्देश राख्दा ती पदार्थको उपभोग गर्नेको संख्या आधा घटेको अध्ययनले समेत देखाएको छ।
एक्सन नेपालले गरेको एक अध्यन अनुसार सरदर दैनिक ११ वटा चुरोट उपभोग गर्नेहरु अहिले पाँच वटामा झरेको देखिएको छ।
11 संगठनका अनुसार, नेपालमा सूर्तीजन्य पदार्थ सेवनका कारण बर्सेनि १५ हजारको अकालमा मृत्यु हुने गर्छ। मृत्यु हुनेमा अधिकांश ती पदार्थ सेवन गर्दा लाग्ने क्यान्सरकै कारण हुने गर्छ। संगठनले नेपाल जस्तो विकासोन्मुख देशमा प्रत्येक ६ जनामध्ये एक जना क्यान्सरका रोगी हुनसक्ने प्रक्षेपण समेत गरेको छ।
एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा सूर्तीजन्य पदार्थका कारण उत्पन्न हुने रोग देखापरिरहेको चर्चा गर्दै सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्सपेटी तथा पार्सलमा ९० प्रतिशत चेतावनीमूलक सन्देश, चित्र अंकित गर्नुपर्ने प्रावधानलाई कडाइ गर्न आग्रह गरे।