प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टरहरुप्रति आफ्नो ठूलो सम्मान रहेको बताएका छन्। नेपाल ट्रान्सप्लान्ट सोसाइटीको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन तथा नेफ्रोलोजी, युरोलोजी तथा ट्रान्सप्लान्टेशन सोसाइटी अफ सार्कको ११औं अन्तर्राष्ट्रिय सम्मेलको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले डाक्टरहरुकै कारण आफू सक्रिय जीवन बाँचिरहेको बताएका हुन्।
‘म अहिले यसरी सक्रिय भएर देशको नेतृत्व गर्न सक्नुको पछाडि डाक्टरहरुको ठूलो मिहिनेत छ', उनले भने, ‘चिकित्सकप्रति अगाध श्रद्धा गर्छु। चिकित्सककै कारण म अहिले यसरी उभिएर बोलिरहेको छु।’
कार्यक्रममा प्रधानमन्त्री ओलीले ११ वर्षअघि भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको स्मरण गर्दै भने, ‘मिर्गौला प्रत्यारोपण गर्दैमा जीवन सकिन्छ भन्नु गलत हो। हेर्नुस्, म अंग प्रत्यारोपित व्यक्ति हुँ। सन् २००७ मा मेरो शरीरमा मिर्गौला प्रत्यारोपण गरिएको हो।’
उनले नेपालमा त्यतिबेला मिर्गौला प्रत्यारोपण सेवा नभएकाले भारत जानुपरेको बताए।
प्रधानमन्त्री ओलीले पछिल्लो एक दशकमा मिर्गौला प्रत्यारोपणको क्षेत्रमा नेपालले उल्लेखनीय प्रगति गरेकोमा खुसी व्यक्त गरे। उनले मिर्गौला रोगको उपचारमा सक्दो सहयोग गरिरहेको भन्दै थप आवश्यकता भए योजना बनाउन समेत निर्देशन दिए।
कार्यक्रममा प्रधानमन्त्री ओलीले डाक्टरहरुले हरेक बिरामीको जीवन बचाउने नियतले नै उपचार गर्ने भएकाले डाक्टरको नियतमा शंका नगर्न पनि आग्रह गरे।
‘मलाई त हरेक चिकित्सकको नियत एउटै छ जस्तो लाग्छ, त्यो भनेको बिरामी बचाउनु नै हो।’ उनले आफूलाई डाक्टरहरुले जीवनदान दिएकाले उनीहरुका कुरा सधैं सुन्ने र पालना गर्ने गरेको समेत बताए।
शनिबारसम्म चलेको सम्मेलनमा स्वदेश तथा विदेशका गरी १ सय ५० भन्दा बढी चिकित्सक सहभागी थिए।