बझाङ– औषधि अभावमा बझाङको दुर्गम क्षेत्रका बिरामी समस्यामा परेका छन्।
स्वास्थ्य चौकीले सिटामोलसमेत उपलब्ध गराउन नसक्दा दहबगड, काँडा, भामचौर, गडराय, धमेनालगायतका दर्जनौँ स्वास्थ्य चौकीमा उपचार लिन आउने बिरामी समस्यामा परेका हुन्।
‘ज्वरो आउन थालेको ३ दिन भयो। सुरुमा सामान्य रुघाखोकी होला भनेर उपचार गरिएन। पछि ज्वरो बढ्दै गयो। स्वास्थ्य चौकीमा उपचारका लागि पुगेँ। चौकीका डाक्टर (अहेब)ले एक चक्की सिटामोल छैन। किनेर लिनु भनेर सिलिप लेखी दिएपछि एक चक्की सिटामोलको ७ रुपैयाँका दरले किनेर औषधि खाएँ,’ दहबगरका उकेश बोहराले भने।
उनले थपे,‘बिरामीले चौकीबाट वर्षको एक दुई महिनाबाहेक अरु समयमा कहिल्यै औषधि पाउँदैनन्। अरु समयमा सधैँ किनेर लिनुपर्छ।’
‘सरकारले ४० प्रकारका औषधि निःशुल्क दिने भनेको छ तर हामीले निःशुल्क रुपमा पाइने सिटामोललाई पनि ७ रुपैयाँमा किन्नुपरेको छ। जनताको मर्का कसले बुझ्ने? नकिनु भने मरियाला भन्ने डर किनेर खाउँ भने नसोचेको मूल्य तिनुपर्ने हुन्छ,’ बोहराले भने, ‘सदरमुकाम पुग्न यहाँका बिरामीलाई हिँडेर पूरै दुई दिन लाग्छ।’
स्वास्थ्य चौकीमा आफू बिरामी परेमा चेकजाँच गराउने मात्र हो। उपचारका लागि सबै औषधि महँगो मूल्यमा स्वास्थ्य चौकी इञ्चार्ज र सहायकको निजी मेडिकलबाट नगदमा भए लेखेको मूल्यभन्दा ५ गुणा महंगो र उधारो भए दैनिकी ब्याजमा गाउँलेले लिने गरेको दुर्गाथली गाउँपालिका–१ करन विकले बताए।
उनले भने, ‘दुई दिनअघि सैनपसेला स्वास्थ्य चौकीमा भाउजुको उपचार गराउन गएँ। पखाला लागेकाले अन्य औषधिसँगै जीवनजल लिएँ। एक पाकेटको ४० तिर्नुपर्यो। जाने बुझेकालाई गोप्यरुपमा चौकी इञ्चार्जले औषधि दिन्छन्।’
‘सर्वसाधारणले ब्याजमा औषधि लिनुपरेको छ। गाउँमा स्थानीय चुनावपछि जनताले सुविधा पाउनुको साटो झन दुःख पाएका छन्। चौकी इञ्चार्जबाट राजनीति आस्थाका आधारमा समेत भेदभाव हुने गरेको छ। सरकारले सिंहदरबारको अधिकार गाउँमा भनेको थियो, यही हो की?,’ विकले प्रश्न गरे।
जिल्लाबाट औषधि आउन छोड्यो। नगरपालिकाले औषधिको खरिदका लागि बजेट पठाएको भन्ने जानकारी आएको भए पनि वडा कार्यालयले औषधि खरिद गरेको छैन। स्वास्थ्य चौकीमा औषधि मौज्दात नभएकाले बिरामीलाई औषधिको पर्ची लेखेर दिने गरेको दहबगड स्वास्थ्य चौकीका अहेव वीरबहादुर धामीले बताए।
उनले भने, ‘मौसम परिर्वतन भएसँगै अहिले झाडापखाला, ज्वरो, विषमज्वरोका बिरामी बढी आउने गरेका छन्। गाउँ दुर्गम छ। राज्यको आँखा पुगेको छैन। अहिले स्वास्थ्य चौकी औषधिविहीन भएको छ। बिरामीले औषधि खोज्ने गर्छन्। हामीले दिन सकेका छैन। कतिले त गाली गर्ने, झगडा गरेर जाने गरेका छन्।’
राज्यले जिल्ला अस्पताललाई ७० प्रकारका औषधि र स्वास्थ्य चौकीलाई ४० प्रकारको औषधि दिने गरेको छ। आर्थिक वर्ष २०७४÷०७५ पहिलो चौमासिकमा औषधि खरिद गरेर ल्याई वितरण गरेको हो। अहिले गाउँपालिका र नगरपालिकाले आफैँले औषधि खरिद गर्ने राज्यले नियम बनाएपछि जिल्लास्थित एक जिल्ला अस्पताल, दुई प्राथमिक स्वास्थ्य केन्द्र, ४५ स्वास्थ्य चौकी सबै औषधिविहीन भएको जिल्ला अस्पतालका प्रमुख डा अनुप रेग्मीले बताए।
उनले भने, ‘औषधिको मूल्य लेखेको हुन्छ। त्योभन्दा बढीमा बिक्री गर्न पाइँदैन। औषधि अभाव जिल्ला अस्पतालमा समेत छ।’ (ललित सिंह/रासस)