रोल्पा – सुरक्षित प्रसूतिका लागि भन्दै सरकारले जिल्लामा ६३ वटा वर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ।
नागरिकको सुविधालाई मध्यनजर गर्दै सकेसम्म कम दूरी रहने गरी स्थापना भएका ती वर्थिङ सेन्टरमा प्रसूति गराउनेको संख्या आधाभन्दा कम छ ।
अघिल्लो वर्ष गर्भवती भएकामध्ये ५० प्रतिशतले मात्र वर्थिङ सेन्टरमा पुगेर प्रसूति गराए । प्रसूतिका लागि वर्थिङ सेन्टर जाने गर्भवतीको संख्यामा क्रमिक सुधार हुँदै आएपनि अवस्था सन्तोषजनक भइनसकेको बताइएको छ ।
आर्थिक वर्ष ०६९०७० मा करीब ३४ प्रतिशत, ०७००७१ मा करीब ३७ प्रतिशत, ०७१०७२ मा करीब ४७ प्रतिशत र आव ०७२०७३ मा ४८ प्रतिशत गर्भवतीले प्रसूति सेवा लिन स्वास्थ्य संस्थामा आएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
विगत पाँच वर्षको तथ्यांक हेर्दा प्रसूति सेवा लिने आमाको संख्यामा वृद्धि भएको देखिए पनि यो मात्रा निकै सुस्त देखिन्छ । वर्थिङ सेन्टर समयमै नबन्नु, भौगोलिक विकटता रहनु र जनशक्ति व्यवस्थापन हुन नसक्दा धेरै आमालाई प्रसूतिका लागि स्वास्थ्य संस्थासम्म ल्याउन नसकेको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।
त्यसो त नियमित चार पटक गर्भजाँच गराउने गर्भवती महिलाको संख्या पनि जिल्लामा निकै कम देखिएको छ । चार महिना, छ महिना, आठ महिना र नौ महिनामा गर्भवती जाँच गराउनु पर्नेमा पहिलो गर्भजाँच गराउनेको संख्या अत्यधिक देखिए पनि दोस्रो, तेस्रो र अन्तिम गर्भजाँच गराउनेको मात्रा घट्ने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाका सिनियर अनमी नैना डाँगीले जानकारी दिनुभयो ।
अघिल्लो वर्ष ९० प्रतिशत गर्भवतीले पहिलो गर्भ जाँच गरे । सोही वर्ष नियमति रुपमा अन्तिमसम्म गर्भ जाँच गर्ने गर्भवतीको संख्या भने ४० प्रतिशत मात्र रहेको सो कार्यालयले जनाएको छ । रासस