सगरमाथा आरोहणको मुख्य सिजन सुरु भइसक्दा आधार शिविरमै अस्थायी क्लिनिक सञ्चालनमा ल्याइएको छ।
आरोहणका क्रममा आरोही तथा गाइडहरुमा आउनसक्ने स्वास्थ्य समस्यालाई ध्यान दिँदै ‘एभरेस्ट आकस्मिक क्लिनिक’ मार्फत उपचार गर्ने व्यवस्था गरिएको हो। क्लिनिकमा नेपालका दुई र अस्ट्रेलियाका एक डाक्टर खटिएका छन्।

हिमालयन रेस्क्यु एसोसिएसन र अमेरिकी डाक्टर लुवाने फ्रेररको सहयोगमा सुरु गरिएको क्लिनिक आरोहण सिजनलाई लक्षित गर्दै दुई महिनासम्म सञ्चालन हुने जनाइएको छ। टेन्टमा सञ्चालित क्लिनिकमा हाडजोर्नी विशेषज्ञ डा सुवर्ण अधिकारी, डा सुवास दवाडी र अस्ट्रेलियाका डा ब्रेन्टन सिस्टरम्यान्स खटिएका छन्। नाम्चेका स्थानीय लाक्पा नोर्वु शेर्पा क्लिनिकमा सहयोगीका रुपमा कार्यरत छन्।

हाडजोर्नी विशेषज्ञ डा अधिकारीका अनुसार दुई सातायता क्लिनिकबाट एक सय ५० भन्दा बढीले उपचार सेवा लिएका छन्। अधिकांशमा झाडापखला र रुघाखोकीको समस्या देखिएको उनले बताए।
‘धेरै विदेशीलाई पखाला र रुघाखोकीको समस्या देखिएको छ’, उनले भने, ‘टेन्टमा सामूहिक रुपमा बस्दा रुघाखोकी छिटै सर्ने गरेको छ।’ 
उनका अनुसार, केही आरोहीलाई आकस्मिक उपचार गरेर थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाउनुपर्ने अवस्था समेत आउने गरेको छ।
गत वर्ष दुई महिनाको अवधिमा क्लिनिकले ५ सय जनालाई उपचार सेवा दिएको थियो। आरोही, शेर्पा र सहयोगीहरुका लागि लक्षित गर्दै सन् २००३ देखि हरेक वर्ष यस्तो क्लिनिक सञ्चालन गर्न थालिएको हो।






