कठमाडौं– स्वास्थ्य राज्य मन्त्री पद्मा अर्यालले स्वास्थ्य चौकी नभएको दुई हजार ३ सय १२ वडामा स्वास्थ्य चौकी स्थापना गर्ने तयारी गरेकी छिन् । आधारभूत स्वास्थ्यमा सवैका पहुँचलाई प्राथमिकता दिइनुपर्ने भन्दै राज्य मन्त्री अर्यालले यस्तो कदम अघि बढाएकी हुन्।
आइतबार मात्रै यस विषयमा मन्त्री अर्यालले अर्थमन्त्री युवराज खतिवडासँग छलफल गरेकी छिन् । मन्त्री अर्यालले भनिन्, ‘राज्य पुनर्संरचनापछिका दुई हजार ३ सय १२ वडामा एउटा स्वास्थ्य चौकी पनि छैन । अहिलेको अवस्थामा पनि आधारभूत स्वास्थ्य सेवामै जनताको पहुँच नभएको देखिन्छ । त्यसैले यतातिर जोड दिएकी हुँ।’
यो सँख्यामा स्वास्थ्य संस्था स्थापनाका लागि १७ अर्ब रुपैयाँ बजेट जरुरी रहेको हिसाब निकालिएको छ । जसका लागि अर्थमन्त्रालयसँग अनुरोध गरिएको छ । अर्थमन्त्री डा खतिवडा पनि यस विषयमा सकारात्मक रहेको बुझिएको छ।
सवै क्षेत्रका जनताको स्वास्थ्यमा पहुँच पुर्याउनु आफ्नो पहिलो प्राथमिकता रहेको राज्य मन्त्री अर्यालले बताइन् । आधारभूत स्वास्थ्यलाई संविधानमै मौलिक हकका रुपमा उल्लेख गरिएको छ।
यसैगरी प्रत्येक वडामा स्वास्थ्य प्रवद्र्धन केन्द्र, प्रत्येका पालिकामा जनसँख्या र भूगोललार्य मध्येनजर गर्दैै ५ देखि १५ शैयाका अस्पताल, प्रत्येक प्रदेशमा विशेषज्ञ सहितका अस्पताल सञ्चालन गर्ने उनको योजना छ । यसलाई आगामी नीति तथा कार्यक्रममै राख्ने गरी प्रस्ताव गरिएको उनले बताइन् ।