रुपन्देही- प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पहिलेको तुलनामा स्वास्थ्य क्षेत्रमा सुधार देखिए पनि समय अनुसार परिर्वतन नभएको बताएका छन्।
स्थानीय तहमा स्वास्थ्य सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेशमा रहेका क्षेत्रीय, अञ्चल र जिल्ला अस्पतालले सेवा विशिष्टीकरण गर्दै आत्मनिर्भर हुने तरिकारले काम गर्नुपर्नै सुझाव दिए।
पोखरेलले लुम्बिनी अञ्चल अस्पताललाई राम्रो बनाउनसके यस क्षेत्रका जनता अन्यत्र महँगो अस्पताल जानु नपर्ने र अन्य क्षेत्रका यस क्षेत्रमा आउने वातावरण बन्ने समेत बताए।
मुख्यमन्त्री पोखरेलले संघीय सरकारले कर्मचारीलाई केन्द्रमा थुपारेर मानसिक रोगी बनाउने काम गरेको बताए। उनले संघिय सरकारले अबको ६ महिनासम्म कर्मचारी नपठाए केन्द्रीय कर्मचारी नस्विकार्ने समेत बताए।
यस्तै, कार्यक्रममा प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले स्थानीय तहका जनप्रतिनिधिहरुले सेवाभन्दा पनि पूर्वाधारलाई बढी प्राथमिकता दिएकाले सेवामा समस्या देखिएको बताए। उनले प्रदेश ५ का १२ जिल्लामा रहेका स्वास्थ्य संस्थामा पूर्वाधार, जनशक्ती र औषधी अभाव हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक चुडामणि भण्डारीले सेवाग्राही कम आउने र पायक नपर्ने स्थानमा रहेका स्वास्थ्य चौकीलाई गाभ्नुपर्ने सुझाव दिए।