बेलायतमा पाँच महिना लामो उपचारपछि वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटालाई नेपाल ल्याइएको छ।
गत शनिबार नेपाल ल्याइएका डा देवकोटालाई बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ। अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार उनको स्वास्थ्य स्थिति स्थिर छ।
स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि डा देवकोटा उपचारका लागि श्रीमती डा मधु दीक्षितसहित बेलायत पुगेका थिए। बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराइरहेका उनले बाँकी उपचार आफ्नै अस्पतालमा गराउने इच्छा गरेपछि नेपाल ल्याइएको हो।
उनको उपचार सघन रुपमा चलिरहेको अस्पतालले जनाएको छ। डा देवकोटालाई लागेको रोग तथा स्वास्थ्य समस्याका विषयमा भने विज्ञप्तिमा उल्लेख गरिएको छैन।
विज्ञप्तिमा अस्पतालमा डा देवकोटासँगको भेटघाटमा पूर्णरुपमा नियन्त्रण गर्नुपरेको पनि उल्लेख गरिएको छ।
शुभचिन्तकहरुलाई विज्ञप्तिमा भनिएको छ, ‘यहाँहरुको शुभेच्छारुका लागि यस अस्पतालमा शुभेच्छा पुस्तिका राखिएको छ। आफ्नो शुभेच्छा व्यक्त गरी घेटघाटको अनुरोध नगरिदिनुहुन सविनय अनुरोध गर्दछौं।’
