पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सार्वजनिक स्वास्थ्य क्षेत्र बलियो नभएसम्म मुलुक समृद्ध हुन नसक्ने बताएका छन्।
श्रमिक दिवसको अवसरमा ओम अस्पताल कर्मचारी युनियनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सरकारले स्वास्थ्य सेवालाई बलियो बनाउनुपर्ने बताए।
‘सरकारले सार्वजनिक स्वास्थ्य संस्था र शिक्षा क्षेत्र बलियो बनाउँदै नगए समृद्धिका कुरा नारामै सीमित हुन्छ’, उनले भने, ‘नेपालको स्वास्थ्य क्षेत्रमा सरकारीसँगै निजी क्षेत्रको उपस्थिति पनि बलियो रहेकाले निजी क्षेत्रलाई पनि सँगै लिएर अघि बढ्नुपर्ने हुन्छ।’
काठमाडौं क्षेत्र नम्बर ४ का सांसद पनि रहेका थापाले स्वास्थ्य क्षेत्रमा धेरै विकृति रहेको तथ्य औल्याउँदै स्वास्थ्य ऐनको प्रभावकारी निर्माणसँगै त्यसको कार्यान्वयनमा जोड दिए।
काठमाडौं महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष शुद्धकुमार डंगोलले सार्वजनिक उत्तरदायित्यबोध गर्दै गुणस्तरीय सेवामा ध्यान दिनुपर्नेमा जोड दिएका थिए। उनले क्षेत्र नम्बर ७ का जनतालाई विशेष सुविधा दिन ओम अस्पतालसँग आग्रह समेत गरे।
ओम अस्पताल कर्मचारी युनियनका अध्यक्ष केशवप्रसाद चौलागाईले संस्थाको समग्र हितसँगै कर्मचारीको वृत्ति विकासलाई युनियनले विशेष प्राथमिकता दिएको बताए।
कार्यक्रममा २० वर्ष सेवा पूरा गरेका कर्मचारीहरुको सम्मान गर्दै बिदाइ गरिएको थियो।