काठमाडौं– थाइल्यान्डकी राजकुमारी डा चुलावर्न मैडोलले आगामी दुई वर्षभित्र थाइल्यान्डबाटै रेबिज उन्मूलन गर्ने प्रतिबद्धता जनाएकी छन्। रेबिज उन्मूलनका लागि भएका प्रगतिका विषयमा छलफल गर्न 11 संगठनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएकी हुन्।
मंगलबार काठमाडौंको होटेल र्याडिसनमा भएको उद्घाटन सत्रमा प्रमुख अतिथि बनेकी उनले भनिन्, ‘हामी सन् २०२० भित्र थाइल्यान्डलाई रेबिजमुक्त बनाउन कटिबद्ध छौं।’ यसका लागि थाइल्यान्डले अपनाएका रणनीतिबारे समेत उनले चर्चा गरिन्।
राजकुमारी चुलावर्नको अगुवाइमा थाइल्यान्डमा रेबिज विरुद्धको खोप, कुकुरको सही व्यवस्थापन र जनचेतनाका काम भइरहेका छन्। उनले भनिन्, ‘रेबिज उन्मूलनका लागि सर्वसाधारणमा यसबारे ज्ञान बाँड्नुपर्छ र उनीहरुको उत्तरदायित्व बताइदिनुपर्छ। मैले हाम्रो ठाउँमा रेबिजबाट मान्छे मर्न दिनुहुँदैन भनेर उत्तरदायित्व बहन गरिरहेकी छु।’
स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले राजकुमारी चुलावर्नले रेबिज उन्मूलनका लागि लिएको नेतृत्वको प्रशंसा गर्दै नेपालको अवस्था अवगत गराएकी थिइन्। तीन चौथाइ नेपालीहरु रेबिजको जोखिममा रहेको बताउँदै उनले बर्सेनि सय जनाको मृत्यु हुने जानकारी गराइन्। उनले भनिन्, ‘हामी रेबिज नियन्त्रणका लागि पछिल्लो एक दशकदेखि सक्रिय छौं। सन् २०३० भित्र संसारबाटै रेबिज उन्मूलन गर्ने लक्ष्यप्रति प्रतिबद्ध छौं।’
संगठनका सहायक निर्देशक मिघुई रेनले सहभागीलाई स्वागत गर्दै विश्वमा रेबिजको वर्तमान अवस्था र 11 संगठनले उन्मूलनका लागि गरिरहेका प्रयासबारे जानकारी गराएका थिए। स्वास्थ्य सचिव डा पुष्पा चौधरीले अध्यक्षता गरेको उद्घाटन कार्यक्रममा कृषि सचिव प्रकाश माथेमाले समेत मन्तव्य राखेका थिए।
तीन दिनसम्म चल्ने कार्यक्रममा रेबिज उन्मूलनका लागि हालसम्म भएका प्रयास र आगामी दिनमा चाल्नुपर्ने कदमका विषयमा छलफल हुनेछ।