तुलसीपुरमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि प्रहरीले उपचारमा संलग्न डाक्टर र मेडिकल सञ्चालकलाई नियन्त्रणमा लिएको छ।
बिरामीको मृत्युपछि मृतकका आफन्तले मेडिकल घेराउ गर्दै डाक्टरमाथि कारबाहीको माग गरेपछि प्रहरीले डा प्रकाश नेपाली र ज्योती मेडिकलका सञ्चालकलाई नियन्त्रणमा लिएको हो। दाङकी एसपी दुर्गा सिंह चन्दका अनुसार घटनाका विषयमा अनुसन्धान भइरहेको छ।
उनका अनुसार उपचारका लागि आएकी ४० वर्षिया प्रेमा कुमालको मृत्युपछि आफन्तले मेडिकलमा प्रदर्शन समेत गरेका थिए। आफन्तको नाराबाजी र प्रदर्शनीका कारण उक्त क्षेत्र तनावग्रस्त बनेको थियो।
तुलसीपुर– ७ कुमाल गाउँकी प्रेमाको मृत्युपछि आफन्तले उपचारमा लापरबाही गरेको आरोप लगाएका छन्। मृतकका आफन्तका अनुसार पेट दुखेर उपचार गर्न गएकी प्रेमालाई डाक्टरले दुखाई कम गर्ने औषधि र इन्जेक्सन दिएपछि झन् गाह्रो भएको र केही समयपछि मृत्यु भएको थियो।
एसपी दुर्गाका अनुसार डाक्टर नेपालीले कुमाललाई पेन्टाप्राजोल औषधि र ट्रिसियान २० एमएलको इन्जेक्सन दिएका थिए।