स्वास्थ्य राज्यमन्त्री पद्मा कुमारी अर्यालको सरकारी स्वास्थ्य संस्था सरसफार्इ अभियानमा वरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) लगायतका वरिष्ठ कलाकार पनि सहभागी भएका छन् । वीर अस्पतालबाट थालिएको अभियानमा साथ दिन उनीहरु बुधबार देशकै सवैभन्दा जेठो वीर अस्पाल पुगेका हुन्।
अस्पताललाई सफा, स्वस्च्छ र चिटिक्क पार्ने सवैको दायित्व भएको भन्दै उनीहरुले आ–आफ्नो ठाउँ र तहबाट सहयोग गर्न अग्रह गरेका छन्। 'काठमाडौंमा हुनेले काठमाडौंका र बाहिर रहेकाले बाहिरकै सरकारी स्वास्थ्य संस्था सफा राख्न पहल गरौं,' उनीहरुले भनेका छन्।
सुरुवातदेखि नै सीताराम कट्टेल धुर्मुस सहभागी थिए भने बुधबारबाट कुञ्जना घिमिरे सुन्तली पनि सहभागी भएकी छिन् । यसैगरी वाग्मति सफाई महाअभियानका अभियान्ता अर्जुन धरेल, सिस्नु पानी नेपालका टंक आचार्य, कलाकारहरु मनोज गजुरेल, अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री), लाेक गायक बद्री पङ्गेनी, गायक यमन श्रेष्ठ र कलाकार अशोक धिताल पनि अभियानमा साथ दिइरहेका छन्।
त्रिभुवन विमानस्थल र पशुपति सफा गरेका खेम शर्मा नेतृत्वको समूहले वीर अस्पताल सरसफार्इ गरिरहेको छ।