स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कानुन विपरीत चुरोट उत्पादन गर्दै आएको सूर्य टोबाको कम्पनीलाई नियमअनुसार काम गर्न पत्र काटेको छ। मन्त्रालयले नियम अनुसार चुरोट उत्पादन नगरे कारबाही गर्ने भन्दै पत्र काटेको हो।
स्वास्थ्य राज्यमन्त्री पद्मा आर्यालको निर्देशन अनुसार मन्त्रालयले कम्पनीलाई पत्र काटेको हो। राज्यमन्त्री अर्यालले उक्त कम्पनीले सरकारले तोकेको ९० प्रतिशत चेतावनीमूलक चित्र नछापेको भन्दै कानुनभन्दा माथि कोही नहुने भन्दै पत्र काट्न निर्देशन दिएकी थिइन्।
राज्यमन्त्री अर्यालको निर्देशनपछि सोमबारको सचिवस्तरीय निर्णय अनुसार सूर्य टोबाको कम्पनीलाई मंगलबार पत्र काटिएको हो। पत्रमा सैर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन र नियमावली अनुसार चुरोटका बट्टा तथा प्याकेटमा अनिवार्य रुपमा ९० प्रतिशत चेतावनीमुलक सन्देश र घातक चित्र छाप्न भनिएको छ।
मन्त्रालयले नियम कार्यान्वयनसँगै उक्त विषयका बारेमा एक महिनाभित्र मन्त्रालयमा जानकारी दिन पनि पत्रमा भनेको छ।
सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को दफा ९ ले चुरोट तथा सुर्तीजन्य पदार्थको हरेक बट्टामा अनिवार्य रुपमा चेतावनीमूलक सन्देश राख्नुपर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्थाविपरीत काम गर्नेलाई ५० हजारसम्म जरिवाना गरी सबै उत्पादन जफत गर्ने व्यवस्था छ ।
ऐनलाई कार्यान्वयनमा ल्याउन मन्त्रालयले ०६८ सालमै कात्तिक १८ गते लागू हुने गरी ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका’ ल्याएको थियो । उक्त निर्देशिकालाई मन्त्रालयले ०७१ मा परिमार्जन गर्दै ९० प्रतिशत भागमा अनिवार्य चित्रात्मक सन्देश राख्ने व्यवस्था गरेको थियो ।
सूर्य चुरोटको अटेरी
सरकारले सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यारपर्सपेटी तथा पार्सलमा ९० प्रतिशत चेतावनीमूलक सन्देश चित्र तथा अंकित गर्नुपर्ने बाध्यकारी कानुन कार्यान्वयनमा ल्याएको छ। यसका लागि स्वास्थ्य मन्त्रालयले निर्देशिका नै जारी गरेको छ। मन्त्रालयले सूर्तीजन्य पदार्थ ९नियन्त्रण र नियमन० ऐन, २०६८ लाई कार्यान्वयन गर्न २०७२ जेठ १ गतेदेखि निर्देशिका कार्यान्वयनमा ल्याएको थियो।
तर, सूर्य चुरोटले हालसम्म पनि उक्त कानुन पालना गरेको छैन। सूर्यले ३ वर्षदेखि उक्त नियम विपरीत ७५ प्रतिशत भागमा मात्र चेतावनीमूलक सन्देश छाप्दै आएको छ। ९० प्रतिशत चेतावनीमूलक सन्देश छाप्ने नियम अरु सबै उद्योगले कार्यान्वयनमा ल्याएका छन्। तर, सूर्यले भने पहुँच र दबावका भरमा कानुनको उल्लंघन गर्दै आएको छ।
कानुनको अटेरी गरिरहेको पाइएपछि स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रले उद्योग मन्त्रालयलाई पटक(पटक पत्र पठाएको छ। तर, अझैसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन।
सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्या पर्सपेटी तथा पार्सलमा ९० प्रतिशत चेतावनीमूलक सन्देश राख्दा ती पदार्थको उपभोग गर्नेको संख्या आधा घटेको अध्ययनले समेत देखाएको छ।
एक्सन नेपालले गरेको एक अध्यन अनुसार सरदर दैनिक ११ वटा चुरोट उपभोग गर्नेहरु अहिले पाँच वटामा झरेको देखिएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार, नेपालमा सूर्तीजन्य पदार्थ सेवनका कारण बर्सेनि १५ हजारको अकालमा मृत्यु हुने गर्छ। मृत्यु हुनेमा अधिकांश ती पदार्थ सेवन गर्दा लाग्ने क्यान्सरकै कारण हुने गर्छ। संगठनले नेपाल जस्तो विकासोन्मुख देशमा प्रत्येक ६ जनामध्ये एक जना क्यान्सरका रोगी हुनसक्ने प्रक्षेपण समेत गरेको छ।