कमलामाई नगरपालिका ७ बासकटेरी टंसार भञ्ज्याङकी राजकुमारी तामाङले घरमै छोरा जन्माइन् तर बच्चा जन्माएको आधा घन्टामै उनको निधन भयो। अहिले उनको छोरा हुर्काउने जिम्मा हजुरआमा बदमकुमारीलाई छ।
आपूm गर्भवती भएपछि राजकुमारीले एक पटक मात्र गर्भ जाँच गराएकी थिइन्। परिवारले पनि पहिलेजस्तै सजिलै होला भन्ने सोच्यो तर त्यसो भएन। राजकुमारीका श्रीमान् विनोद भन्छन्, ‘बेथा लागेको केही समयमै बच्चा जन्मियो। खासै केही भएको थिएन तर बच्चा जन्मेको आधा घन्टाभित्रै श्रीमती धेरै छट्पटाइन्। त्यसको केही मिनेटमै उनको सास रोकियो।’
राजकुमारीले त्यसअघिका दुई सन्तान पनि घरमै जन्मिएकी थिइन्। उनका जेठा छोरा ८ वर्ष पुगे। दोस्रो पटक छोरी जन्मेकी थिइन्। तर, उनको जन्मेको एक घन्टामै निधन भयो। तेस्रो सन्तान जन्माएपछि आमा नै बितिन्।
राजकुमारीले कुनै पनि सन्तान गर्भमा रहँदा नियमित रुपमा स्वास्थ्य जाँच गराइनन्। बच्चा जन्माउने बेलामा उनलाई अस्पताल पनि लगिएन।
जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीको जिल्ला स्वास्थ्य प्रतिवेदन अनुसार २०७३/०७४ मा सिन्धुलीका गर्भवती महिलामध्ये २३ प्रतिशतले मात्र बर्थिङ सेन्टरमा गएर सुरक्षितसँग बच्चा जन्माएका थिए। त्यस वर्ष ७७ प्रतिशत गर्भवती महिलाले घरमै असुरक्षित तरिकाले बच्चा जन्माए।
त्यसको अघिल्लो वर्ष भने २५ प्रतिशत गर्भवती महिलाले प्रसूति सेवा लिएका थिए। त्यस वर्ष सिन्धुलीमा २० वटा बर्थिङ सेन्टर थिए। अर्काे वर्ष ३ वटा बर्थिङ सेन्टर थपिए। तर त्यसबाट सेवा लिने महिलाको प्रतिशत भने घट्यो। सोही प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा २४ दशमलब ०३ प्रतिशत महिलाले मात्र प्रसूति सेवा लिएका थिए।
नियमित रुपमा गर्भ जाँच नगराउँदा र सुरक्षित तरिकाले सुत्केरी गराउने सुविधाको उपयोग नगर्दा बच्चाको पनि ज्यान जाने गरेको छ। सिन्धुलीकै घ्याङ्लेख गाउँपालिका ४ नेत्रकाली गोपेकी शान्ति तामाङले घरमै बच्चा जन्माइन्। तर, जन्मेको १० घन्टा पनि नबित्दै बच्चाको निधन भयो। शान्ति भन्छिन्, ‘खासै ठूलो बेथा लागेको थिएन। एक घन्टा जति बेथा लागेपछि बच्चा जन्मियो। जन्मिँदा बच्चा राम्रै देखेको थिएँ। एक्कासी के भयो–भयो, राति २ बजेतिर नानी लाराकलुरुक भयो। त्यसपछि त उसले सासै फेर्न छाड्यो।’
शान्तिले १७ वर्षको उमेरमा ९ कक्षा पढ्दापढ्दै प्रेम बिवाह गरेकी थिइन्। गर्भवती भएपछि जाँच गराउनुपर्छ भन्ने कुरा उनलाई थाहा थिएन। यसबारे अरुसँग खुलेर कुरा गर्न पनि उनलाई लाज र डर लाग्यो। भनिन्, ‘गर्भ जाँच गराउनुपर्छ भन्ने सल्लाह कसैले दिँदा पनि दिएनन्।’
यसरी घरमै बच्चा जन्माउँदा आमा र बच्चा दुवैको ज्यान जाने जोखिम हुनुका साथै दुवैको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने जिल्ला अस्पताल सिन्धुलीका मेडिकल सुपरिटेन्डेट डा सुमित्रा गौतम बताउँछिन्। उनका अनुसार स्वास्थ्य संस्थामा बच्चा जन्माउँदा र घरमै बच्चा जन्माउँदा आमा र बच्चा दुवैको बाँच्न सक्ने क्षमतामै फरक पर्छ।
घरमै बच्चा जन्माउँदा बच्चा जन्मिसकेपछि धेरै रगत बग्ने, साल अड्किनेजस्ता समस्याले आमाको ज्यान जान सक्ने जोखिम रहन्छ। डा गौतम भन्छिन्, ‘गर्भवती हुँदा आमाको अङ्ग फाटेका हुन्छन्। यस्तो बेलामा आमालाई आवश्यक पोषक तत्व र औषधि खुवाउनुपर्छ तर घरमै सुत्केरी हुँदा यी कुरा थाहा हुँदैन।’
गौतमका अनुसार, कहिलेकाहीँ आमाको गुप्ताङ्ग पूरै च्यातिएर रगत धेरै बग्छ। यसले गर्दा तत्काल ज्यान जानसक्ने खतरा रहन्छ। पछि पाठेघर खस्ने समस्या पनि हुन सक्छ। बच्चा जन्मेको ठाउँ फोहोर छ भने पनि त्यसबाट घाउ भई पछि रगत बग्ने, ज्वरो आउने हुन्छ जसका कारण आमा र बच्चा दुवैको मृत्युसम्म हुन सक्छ।
‘घरमै बच्चा जन्माउँदा बच्चा निसासिन सक्छ। बच्चा जन्मिसकेपछि चिसो लाग्न सक्छ। यसले गर्दा बच्चाको ज्यान जोखिममा हुन्छ। घरमै बच्चा जन्माउँदा बच्चाको कति तौल छ भन्ने थाहा हुँदैन। कुनै–कुनै आमा र बच्चाको पनि रगत फरक हुन सक्छ। त्यति बेला ७२ घन्टाभित्र सुई लगाउनु पर्नेहुन्छ। तर घरमै गर्भवती हुदाँ यी सबै कुरा हुँदैन र बच्चाको ज्यान जान्छ,’ डा गौतमले भनिन्।
यस्तै, कतिपय बच्चालाई आइसियूमा राख्नुपर्ने हुन्छ, तर घरमै बच्चा जन्माउँदा त्यो सुविधा पाइँदैन। कहिलेकाहीँ बच्चा जन्मँदै उसलाई रोग लागेको हुनसक्छ। घरमै बच्चा जन्माउँदा बच्चालाई रोग लागे÷नलागेको थाहा हुँदैन। अस्पतालमा भयो भने तत्काल रोग पत्ता लाग्छ र उपचार हुन्छ। ‘बच्चा घरमै जन्मायो भने बच्चा कस्तो हुन्छ भन्न सकिन्न, अस्पतालमा जन्माउँदा बच्चा भविष्यमा कस्तो हुन्छ, बच्चाको मस्तिक कस्तो छ त्यो पनि थाहा हुन्छ,’ डा गौतम भन्छिन्।
नेपालमा २०६५ सालदेखि आमा सुरक्षा कार्यक्रम लागु भएको छ। सिन्धुलीमा पनि सोही वर्षबाट यो कार्यक्रम लागू भएको हो। आमा सुरक्षा कार्यक्रम अन्तर्गत तोकिएका स्वास्थ्य संस्थामा प्रसूति गराउँदा सेवाग्राहीलाई निःशुल्क सेवा प्रदान गरिन्छ।
सिन्धुलीका अधिकांश भूभागमा पहाड पर्छ। कतिपय ग्रामीण भेगमा स्वास्थ्य चौकी छैनन्। यातायातका साधन नहुँदा स्वास्थ्य संस्था पुग्न घन्टौं हिँड्नुपर्ने अवस्था छ। गर्भावस्थामा स्वास्थ्य परीक्षण गराउन परिवारले पनि सहयोग गर्दैनन्। यसो गर्नुपर्छ भन्ने चेतना पनि धेरैमा छैन । त्यसैले, गर्भावस्थामा स्वास्थ्य जाँच नगराउने र घरमै बसेर असुरक्षित रुपमा बच्चा जन्माउने चलन रोकिएको छैन।
जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका सुरक्षित मातृत्व कार्यक्रमका फोकल पर्सन रुपा लामा ग्रामीण भेगमा जनचेतनाको अभाव र परिवारको हेलचेक्राइँ ठूलो समस्याका रुपमा रहेको बताउँछिन्। उनले सुनाइन्, ‘धेरैले आ... बच्चा पाउने त हो नि। हामीले घरमै पायौं, हाम्रा छोरीबुहारीले नि पाइहाल्छन् नि भन्छन्।’ ग्रामीण भेगमा प्रसूति गराउने दक्ष व्यक्तिको कमी भएकाले पनि घरमै बच्चा जन्मिइरहेको उनले बताइन्।
लामाका अनुसार सांस्कृतिक तथा परम्परागत धारणाले गर्दा पनि आमा र बच्चाको मृत्यु हुने गरेको छ। स्वास्थ्य संस्था लैजाने निर्णय गर्न र स्वास्थ्य संस्थामा पु¥याउन ढिलो हुनाले पनि आमा र बच्चाको ज्यान जाने गरेको छ।