दुई दिने नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार राती स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने घोषणा गरे।
उनको घोषणा थियो, ‘भक्तपुर क्यान्सर अस्पताललाई भारतमा विकसित भाभाट्रोन रेडियोथेरापी मेसिन उपहार दिने।’
मोदीले बात्तीसपुतलिस्थित होटल द्वारीकाजमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संयुक्त प्रेस वक्तब्यका क्रममा क्यान्सरका बिरामीको उपचारका लागि सहयोग पुग्ने उक्त उपकरण दिने घोषणा गरेका हुन्।
कार्यक्रममा प्रधानमन्त्री मोदीले भने, ‘नेपालको स्वास्थ्य क्षेत्रमा हामी नयाँ कदम उठाउँदैछौं। क्यान्सर रोगीको उपचारका लागि छिट्टै भारतमा विकसित भाभाट्रोन रेडियोथेरापी मेसिन स्थापना गर्नेछौं। भक्तपुर क्यान्सर अस्पतालमा उक्त मेसिन जडान हुनेछ।’
भारतीय प्रधानमन्त्री मोदीले उपहारस्वरुप दिने भनेको उक्त उपकरण क्यान्सरका बिरामीको उपचारका लागि प्रयोग हुने निकै पुरानो प्रविधि हो।
मोदीले दिने भनेको कोवाल्ट ६० वीथ स्टिमुलेटर नामक उक्त रेडियोथेरापी मेसिन वीर अस्पतालले पुरानो र कमसल भन्दै नकिनेको उपकरण हो।
क्यान्सर उपचारका लागि यो प्रविधिभन्दा थप दुई नयाँ अत्याधुनिक प्रविधि विश्वबजारमा भित्रिसकेको छ। नेपालका अस्पतालमा पनि कोबाल्ट भन्दा आधुनिक लिन्याक र त्यो भन्दा पनि अत्याधुनिक अहिलेको नयाँ प्रविधि टोमोथेरापी मेसिन भित्रिने भएको छ।
वीर अस्पतालले कोबाल्ट मेसिन पुरानो भएको भन्दै उक्त प्रविधिभन्दा दुई तह माथिल्लो अत्याधुनिक टोमोथेरापी मेसिन किनेको छ। टोमोथेरापी भन्दा एक स्तर कमको प्रविधि हो लिन्याक र लिन्याकभन्दा पनि एक स्तर कमको प्रविधि हो मोदीले दिने भनेको कोवाल्ट मेसिन।
क्यान्सर रोग विशेषज्ञहरुका अनुसार भारतले उपहार दिने भन्दैमा रेडियसन धेरै फाल्ने कमसल उपकरण लिन नहुने बताउँछन्।
‘हुँदै नहुनुभन्दा त्यही भए पनि लिउँ भन्ने उदेश्य हो भने त हाम्रो भन्नु केही छैन,’ एक क्यान्सर रोग विशेषज्ञले भने, ‘तर, भारतले दिएको उक्त उपकरण लिनुभन्दा नलिनुनै फाइदा देख्छु।’
वीर अस्पतालले भारतीय कम्पनी भावाट्रोनको उपकरण किन्ने समयमा विज्ञ टोलीले कमसल यो मेसिन खरिद गर्न नहुने सुझाब दिएपछि उक्त मेसिन भन्दा दुई स्तर माथिल्लो टोमोथेरापी किन्ने निर्णयमा पुगेको हो। विशेषज्ञका अनुसार यो कम गुणस्तर र अस्पतालका निम्ति कामलाग्दो छैन।
भारतीयले उक्त मेसिन मंगोलियाका अस्पताललाई पनि उपहार दिएको छ। तर, त्यहाँका चिकित्सक पनि उक्त मेसिनबाट सन्तुष्ट नभएको भक्तपुर क्यान्सर अस्पतालका एक चिकित्सकले बताए।
‘मंगोलियाको डाक्टरसँगको कुराकानीमा उपहारस्वरुप आएको कोबाल्ट मेसिन पुरानो प्रविधिको भएकाले राम्रोसँग काम गर्न नसकिएको गुनासो गरिरहेका छन्,’ उनले भने।
मोदीले उपहारस्वरुप दिने भनेको उक्त उपकरण अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)को मान्यता समेत पाएको छैन। एफडिएको मान्यता पाएका उपकरण गुणस्तरीय र राम्रो नतिजा दिने हुन्छन्। विश्वका धेरै देशका अस्पतालले एमफडिए मान्यता नपाएका उपकरण तथा चिकित्सकिय सामाग्री प्रयोगमा ल्याउँदैनन्।