वीर अस्पतालको चौँथो तला। काला र मैला भित्ता। असरल्ल तार। धुलाम्मे झ्याल। उस्तै मैला सिलिङ।
तर, अहिले वीर अस्पतालका काला र मैला भित्ता क्रमशः निला र चम्किला भइरहेका छन्। भित्ताका असरल्ल तार लिष्टीले छोप्न थालिएको छ। टाढैबाट गन्हाउने फोहोरी शौचालय टल्किएका छन्।
अस्पतालको चौंथो तलामा भित्ता रङ्ग्याउने, तार मिलाउने र झ्याल सफा गर्नेहरु आफ्नै काममा व्यस्त छन्।
स्वास्थ्यखबरको टोली अस्पतालमा पुग्दा अस्पताल टल्काइरहेकामध्ये भित्तामा रङ लगाइरहेका एक परिचित अनुहार भेटिए।
उनी थिए हाँस्य कलाकार ‘धुर्मुस’ अर्थात सीताराम कट्टेल।
आफैँ रङ लगाइरहनु भएको छ त ? हामीले प्रश्न गर्यौँ ।
‘अँ आफैँ खटेको छु, म खटेको देखेपछि अरु साथीहरु पनि निरन्तर काममा लाग्नु भएको छ। यसैगरी काम हुने हो भने केही दिनमै वीर अस्पतालको मुहार फेरिन्छ,’ धुर्मुसले भने।
पुनः भित्तामा रङ दल्न थाले।
ड्रम माथि चढेर सिलिङभन्दा तल्लो भागमा हातले भ्याउने जति रङ्ग्याइसकेपछि उनी तल झरे।
‘सुरुमा अस्पतालको सफाई गर्ने भनेर हामी छिरेका थियौं,’ उनले रङको ब्रस छेउमा राख्दै भने, ‘तर, यहाँ भीत्र छिरेपछि शौचालय र भुई सफा गरेर मात्र वीर अस्पतालको मुहार फेरिने देखिएन र हामीले कलर गर्नेदेखि वायरिङको काम पनि थालेका हौँ ।’
खर्च कसरी जुटाउनु हुन्छ त ?
‘सहयोगी हातहरु आइरहेका छन्, अस्पताल प्रशासनले पनि आफ्नो स्रोत र साधनले भ्याएसम्म सहयोग गरिरहेको छ,’ धुर्मुसले जबाफ दिए।
उनले वीर अस्पतालको शौचालयको फोटो राख्दै अस्पताल सफाइ अभियानमा सघाउन आग्रह गरेका थिए। वीर अस्पताल सफाइ अभियानको दोस्रो दिन फेसबुकमा अस्पतालको शौचालयको तस्बिर राखेर रंगरोगन र विद्युतीय सामान मर्मतका लागि स्वयंसेवी भएर काम गर्न इच्छुक पेन्टर र इलेक्ट्रिसियनलाई आग्रह गरेका थिए।
‘हामी सबै मिलेर देशको मुटु हस्पिटललाई सफा र राम्रो हस्पिटलको रुपमा विकास गरौं। आउनुहोस्, तपाईँ पनि हाम्रो यस अभियानमा जोडिनुहोस्’, धुर्मुसले लेखेको केही समयपछि नै केही सहयोगी र सहयोग आयो।
‘थोरै सहयोग आएको छ अरु पनि आउला अस्पताल त जसरी पनि टल्काउने हो’ उनले भने।
धुर्मुस नेपाल सरकारका सरसफाई दुत पनि हुन्। वैशाख २३ गते स्वास्थ्य राज्य मन्त्री पद्मा अर्याल, सरसफार्इकर्मी खेम शर्मा र धुर्मुससहितको टोलीले वीर अस्पतालको शौचालय सफा गर्दै सफाइ अभियान सुरु भएको हो।
त्रिभुवन विमानस्थल र पशुपति सफा गरेका खेम शर्मा नेतृत्वको समूहले वीर अस्पताल सरसफार्इ गरिरहेको छ। खेम शर्माको टोलीले वीर अस्पतालमा १५ दिनसम्म अभियानका रुपमा सफाइको काम गर्नेछन्। उनीहरुले सफाइसँगै वीर अस्पतालमा कार्यरत कर्मचारीलाई तालिम समेत दिनेछन्।
अभियान सुरु भएदेखि धुर्मुस वीर अस्पतालमा निरन्तर खटिरहेका छन्। बिहान ६ बजेदेखि अस्पतालमा खटिएका धुर्मुस मध्यराती २ बजेसम्म पनि खटिरहेका हुन्छन्।
अस्पतालको लिफ्ट छेउमा राखिएको म्याट देखाउँदै धुर्मुसले भने, ‘२ बजेतिर त्यहीं सुतें तर मच्छरले टोकेर सुत्न नदिएपछि साढे २ बजेतिर निस्किएँ।’
निरन्तरको खटाईले बिरामी परियला नि ? भन्ने हाम्रो जिज्ञासामा उनले भने, ‘नेपालकै विज्ञ डाक्टरहरुले काम गर्ने केन्द्रिय अस्पतालमा बेहोस भएँ पनि तुरुन्तै उपचार पाइहाल्छु नि ।’
अस्पताल चम्काउने यो अभियानमा धुर्मुसलाई साथ दिन वरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य ९मह जोडी० लगायतका वरिष्ठ कलाकार पनि सहभागी भएका छन् । हाँस्य कलाकार मनोज गजुरेल पनि नियमित अस्पताल पुग्छन् र सफाईमा जुट्छन्।
अस्पताललाई सफा, स्वस्च्छ र चिटिक्क पार्ने सवैको दायित्व भएको भन्दै उनीहरुले आ–आफ्नो ठाउँ र तहबाट सहयोग गर्न अग्रह गरेका छन्। 'काठमाडौंमा हुनेले काठमाडौंका र बाहिर रहेकाले बाहिरकै सरकारी स्वास्थ्य संस्था सफा राख्न पहल गरौं,' उनीहरुले भनेका छन्।
यसैगरी वागमती सफाई महाअभियानका अभियान्ता अर्जुन धरेल, सिस्नु पानी नेपालका टंक आचार्य, कलाकारहरु अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री), लोक गायक बद्री पङ्गेनी, गायक यमन श्रेष्ठ र कलाकार अशोक धिताल पनि अभियानमा साथ दिइरहेका छन्।
वीर अस्पताल निर्देशक डा भूपेन्द्र बस्नेतका अनुसार धुर्मुसको आह्वानपछि केही सहयोगी थपिएका छन् भने १५ जनाको समूह शर्माले ल्याएका छन् थप १० जना वीर अस्पतालले दिएको छ। ३० जना भन्दा बढको समूहले १५ दिन वीरमा र १५ दिन ट्रमा सेन्टरमा सफाइ गर्नेछन्। उनले अभयानबाट अस्पताल चम्केपछि त्यसलार्इ दिगो बनाउने प्रणाली लागू गरिने बताए।
‘अब वीरको मुहार पक्कै फेरिनेछ,’ उनले भने, ‘हामी अस्पतालको फेरिएको चम्किलो मुहारलाई दिगो बनाउने गरी काम अगाडि बढाइरहेका छौं।’
खेम शर्माले १५ दिनमै वीरमा परिवर्तन देखिने बताए। उनले भने, ‘अहिले यहाँका शौचालय, कोठा र करिडोरको तस्बिर लिएर जानुहोस्, १५ दिनपछि आएर फेर हेर्नुहोला । पक्कैपनि परिवर्तन पाउनुहुनेछ।’ उनले वीरका कर्मचारीलार्इ तालिम पनि दिइरहेको बताए।
डा बस्नेतले वीर अस्पतालका कर्मचारीले नै तालिम पाएपछि अस्पताल अभियानका दिनमा मात्र नभई सँधैभर सफा हुने बताए। ‘वीर अस्पताल सँधै सफा र आकर्षक हुने गरी प्रणालीको विकास गरेर अगाडि बढ्न लागिएको हो,’ उनले भने, ‘आगामि दिनमा बिरामीले अनुभव गर्ने गरी वीर अस्पतालको मुहार फेरिनेछ र सफा वीर अस्पतालले निरन्तरता पाइरहनेछ।’
उनले पछिल्लो एक वर्षमा अस्पतालमा धेरै सुधार आइरहेको र बिरामीले सहज सेवा पाइरहेको जानकारी दिए। अस्पतालको पूर्वाधार, रङरोगन र सरसफाइसँगै अस्पतालमा आवश्यक उपकरण लगायतका प्रविधि समेत थप्दै गएका कारण वीरको मुहार फेरिँदै गएको डा बस्नेतले बताए।