किर्तिपुर नगरपालिकाले स्थानीय महिला स्वास्थ्य स्वयंसेविकालाई रक्तचाप र मधुमेह परीक्षणको तालिम दिएको छ । नसर्ने रोगको प्रकोप न्युनिकरणको पहल अन्तर्गत नगरपालिकाले उनीहरुलाई तालिम दिएको हो।
नगरमा रहेका १ सय १३ मध्ये ६० जना परीक्षण गर्न सक्ने स्वयंसेविका छनोट गरी उक्त तालिम दिइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर थापाले जानकारी दिएका छन् । उनका अनुसार यस किसिमको जानकारी हासिल गर्न इच्छुक स्वयंसेविकालाई उक्त तालिम दिइएकाले कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ।
‘स्वयंसेविकाहरुले टोलछिमेककाहरुको नियमित रक्तचाप र मधुमेह जाँच गर्नेछन् । जसमा यी समस्याको सम्भावना वा जोखिम देखिन्छ उनीहरुले चिकित्सकीय परामर्शका लागि पठाउनेछन्,’ शाखा प्रमुख थापाले भने । उक्त जाँच गराइमाग्न आउनेहरुदेखि विभिन्न आमा समूह, क्लबहरु र भेलामा पुगेर स्वयंसेविकाले परीक्षण गर्नेछन् । नगरपालिकाले तालिम प्राप्त स्वयंसेविकाहरुलाई परीक्षणका सामाग्री उपलब्ध गराउनेछ।
परीक्षणपछि उनीहरुले त्यसको रेकर्ड राख्नेछन् । उक्त रेकर्डबाट नगरपालिकालाई स्वास्थ्य सम्बन्धि योजना बनाउन सहयोग पुग्ने अपेक्षा नगर प्रमुख रमेश महर्जनको छ । नसर्ने रोग विश्वव्यापी रुपमा समस्या बन्दै गइरहेकाले नगरवासीमा यस सम्बन्धि जनचेतना जगाउन र सचेत गराउन कार्यक्रम ल्याइएको उनी बताउँछन्।
उच्च रक्तचाप र मधुमेहको मुख्य कारण 18 र खानपान भएकाले सचेतना फैलाएर न्युनिकरण गर्न सकिने स्वास्थ्य शाखा प्रमुख थापा बताउँछन् । उनी भन्छन्, ‘मधुमेह र उच्च रक्तचाप आफैंमा दीर्घ रोग मात्र नभइ धेरै रोगका कारक हुन् । त्यसैले हामीले यी दुईको परीक्षणलाई पहिलो प्राथमिकतामा राखेका हौं।’
केही समयदेखि नगरपालिकाले ७० वर्ष कटेकाहरुलाई उच्च रक्तचापको औषधि निःशुल्क वितरण गरिरहेको छ।