सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सार्वजनिक गरेको निती तथा कार्यक्रममा एक स्थानीय तह, एक चिकित्सक कार्यक्रम ल्याउन बताइएको छ।
पाँच वर्षभित्र हरेक गाउँपालिकामा कम्तिमा १५ सैयाको एउटा अस्पताल हुने कार्यक्रम तय गरिएको छ । आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिइने, बिमाको कभरेज र प्याकेज बढाउने बताइएको छ।
स्थानीय तहबाट आधारभूत, प्रदेशबाट विशेषज्ञ र रिफरल र केन्द्रीय अस्पतालबाट अत्याधुनिक र विशिष्टिकृत स्वास्थ्य सेवा दिइने भनिएको छ ।
विशिष्टिकृत स्वास्थ्य सेवाका लागि नेपालीहरुले विदेश जाने अवस्थाको अन्त्य ५ वर्षभित्र गर्ने लक्ष्य समेत लिइएको छ ।
आमा र शिशुको स्वास्थ्यलाई विशेष प्राथमिकता दिने सरकारको योजना छ ।
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले बिरामीसँग गर्ने व्यवहारमाथि सरकारको ध्यान खिचिएको छ । यसका लागि आचारसंहिता ल्याउने बताइएको छ।
आयुर्वेद, होमियोप्याथी लगायतका परम्परागत चिकित्सालाई आधुनिकीकरण गर्ने सरकारको योजना छ । यसैगरी विदूषी योगमाया आयुर्वेद केन्द्र स्थापना पनि सरकारको निती तथा कार्यक्रममा समेटिएको छ।