नेपालगन्ज– दाङको शान्तिनगर गाउ“पालिकाका चिरीघाट र पाटेटाकुरा गाउँमा शनिबार बिहानदेखि फैलिएको झाडापखालाबाट थलिएका बिरामीहरुको धमाधम उपचार भइरहेको छ।
दूषित खानेपानीका कारण फैलिएको झाडापखालाबाट दुई गाउँमा गरी ११ सय ४८ जना प्रभावित भएका छन्। २ वटा वडामा ८ सय ५१ घरधुरी छन्।
प्रभावितमध्ये गाउँमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा आज मात्रै ७ सय २९ जना बिरामी पुगेका छन्। प्रभावित क्षेत्रमा गाउँपालिकाको पहलमा ५ वटा शिविर सञ्चालन गरेर उपचारको व्यवस्था मिलाइएको छ।
राप्ती अञ्चल अस्पताल, नेपाली सेना, गाउँपालिका र उप–क्षेत्रीय अस्पताल घोराहीका डाक्टरसहित स्वास्थ्यकर्मीहरुको टोलीले बिरामीको उपचार गरिरहेको शान्तिनगर गाउँपालिकाका प्रमुख कमानसिंह डाँगीले बताए। सरकारी तथा गैरसरकारी संस्थाले औषधि उपलब्ध गराएको र स्वास्थ्य चौकीमा थप १ हजार जनालाई पुग्ने औषधि मौज्दात रहेका अध्यक्ष डाँगीले जानकारी दिए।
गाउँको माइली खोलामा हालै आएको बाढीको पानी खानेपानीको ट्याङ्कीमा पसेको र त्यही दूषित पानीबाट गाउँमा झाडापखाला फैलिएको हो।
झाडा पखालाबाट सिकिस्त बिरामीमध्ये ५ जनाको गाउँको स्वास्थ्य चौकीमा र २१ जनाको तुल्सीपुरस्थित अस्पतालहरुमा उपचार भइरहेको जनाइएको छ।
हिजो शिविरमा आई निको भएर घर फर्किएकामध्ये २१ जना आज पुनः समस्या भएर उपचारका लागि शिविरमा आएका थिए।
अहिलेसम्म बिरामीहरुको औषधोपचारका लागि सबै खर्च गाउँपालिकाले गरिरहेको र सबै बिरामीलाई राम्रो उपचार दिन हरसम्भव प्रयास गरिएको गाउँपालिकाका अध्यक्ष डाँगीले बताए। झाडापखालाका कारण हालसम्म कुनै पनि बिरामीको मुत्यु भएको छैन। स्वास्थ्यकर्मीहरुको टोली परिचालन भएपछि स्थिति बिस्तारै नियन्त्ररणमा आउन थालेको डाँगीले बताए ।
यसैबीच नेपाली सेनाको रिपुमर्दन गणको टोलीले प्रदूषित भएको खानेपानीको मुहान सफा गरेको छ। गणपति राजन बुढाथोकीको कमान्डमा खटिएको टोलीले पानीको मुहान सफा गर्नुका साथै बिरामीहरुको उपचार गरिरहेको छ।
शुद्ध खानेपानीको वितरण व्यवस्थित नहुँदासम्मका लागि गाउँपालिकाको पहलमा ४ वटा ट्याङ्करबाट प्रभावित क्षेत्रमा खानेपानी वितरण गरिएको छ।