सरकारले आफ्नो सय दिनको अवधिमा ८८ वटा उपलब्धि हासिल गरेको दाबी गरेको छ।
सार्वजनिक गरिएको सरकारको १ सय दिनका प्रमुख उपलब्धिमा संघीयता कार्यान्वयन, कानुन निर्माण, अर्थतन्त्र, ऊर्जा, सामाजिक विकास, स्वास्थ्य लगायत १५ वटा विभिन्न शीर्षक अन्तर्गत प्रगति विवरणहरु राखिएको छ। १२औं शीर्षकमा स्वास्थ्यमा भएका कामहरु उल्लेख गरिएका छन्।
स्वास्थ्यका विषयमा प्रमुख ६ वटा उपलब्धि भएको उल्लेख गरिएको छ। तर, ६ वटै बुँदा वर्तमान सरकारका उपलब्धि होइनन्। ६ मध्ये ३ वटा बुँदा गगन थापा स्वास्थ्य मन्त्री हुँदा भएका काम हुन्। त्यस्तै, वर्षौँदेखि चल्दै आएका दुई कार्यक्रम र त्रिवि शिक्षण अस्पतालमा सुरु गरिएको सेवालाई पनि स्वास्थ्यको उपलब्धिमा राखिएको छ।
प्रधानमन्त्री ओलीको उपलब्धिमा सहिद गंगालाल हृदय केन्द्रबाट नेपालगञ्ज र जनकपुरमा मुटुरोग सम्बन्धी सेवा विस्तार गरिएको उल्लेख छ। यो सेवा तत्कालीन स्वास्थ्य मन्त्री थापाको पालामा भएको हो। सेवा विस्तारका लागि बजेट समेत उपलब्ध गराइएको थियो।
मुटुरोग सेवा विस्तार गर्न गंगालाल र भेरी अञ्चल अस्पतालबीच २०७३ फागुन २७ गते सम्झौता भएको थियो। स्वास्थ्य मन्त्रालयकी तत्कालीन प्रमुख विशेषज्ञ डा किरण रेग्मीको रोहबरमा भएको सम्झौतामा भेरी अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्रबहादुर चन्द र गंगालाल राष्ट्रिय ह्रदयरोग प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा ज्योतिन्द्र शर्माले हस्ताक्षर गरेका थिए। केन्द्रीय अस्पतालहरुले अति विशिष्टकृत सेवाहरु देशका अन्य अस्पतालहरुमा विस्तार गर्ने सरकारको नीति अनुरुप यो सम्झौता भएको हो। (हेरौं समाचार- मुटुरोग सेवा बिस्तार गर्न गंगालाल र भेरी अञ्चल अस्पतालबीच सम्झौता )
यस्तै, जनकपुर अञ्चल अस्पतालसँग ०७४ बैसाख २१ गते मुटु रोगको सेवा विस्तार गर्ने सम्झौता भएको थियो। दुई अस्पतालबीच सहकार्यमा १० वर्ष सेवा दिने सम्झौता भएको हो। (हेरौं समाचार- मुटुरोगको उपचार सेवा बिस्तार गर्न गंगालाल र जनकपुर अञ्चल अस्पतालबीच सम्झौता )
ओली सरकारले भेरी र जनकपुर अस्पतालमा सेवा विस्तार गरिएको उपलब्धि उल्लेख गरिएको बुँदामा नै राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रम अन्तर्गत छाती रोग अस्पताल निर्माण सुरु गरेको दाबी गरेको छ। यो अस्पताल निर्माणको काम पनि ओली नेतृत्वको सरकार गठन हुनुभन्दा ६ महिना अगाडि नै सुरु भएको हो। भवन निर्माणका क्रममा विवाद उत्पन्न भएपछि गत पुस १३ गते मध्यपुरथिमि नगरपालिकाले भवन निर्माणको काम रोकेको थियो।
२९ करोड लागतमा निर्माण भइरहेको उक्त भवन नगरपालिकासँग स्वीकृति नलिई निर्माण गरेको भन्दै नगरपालिकाले सिलबन्दी गरेको थियो। त्यसको केही दिनमा ६ बुँदे सहमति भएपछि अस्पताल निर्माणको काम पुन सुरु भएको थियो।
हेरौं समाचार- २९ करोड लागतमा निर्माणाधीन क्षयरोग अस्पतालको भवनमा शिलबन्दी
प्रधानमन्त्री ओलीको सय दिनको उपलब्धिमा जनस्वास्थ्य विधेयकको मस्यौदा तयार गरिएको उल्लेख छ। उक्त विधेयक पनि गगन थापा मन्त्री हुँदा ०७४ बैसाखमै मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृती लिई रायका लागि पठाइएको थियो। यो विधेयकसँगै गगनको पालामा नै प्रजनन स्वास्थ्य स्वास्थ्यका विधेयक लगायतका एक दर्जनभन्दा बढी नीति तथा कानुनको मस्यौदा तयार पारिएको थियो। त्यसयता हालसम्म ती विधेयक र कानुनका विषयमा केही काम अगाडि बढेको छैन। मन्त्रालयले तिनै कानुन र नीतिको सूची बनाउने काम भने गरेको छ।
यसैगरी, गगनकै पालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको सेवा विस्तारका लागि उपलब्ध गराइएको एक अर्ब बजेटबाट खरिद भएका उपकरण पनि प्रधानमन्त्री ओलीको सय दिनको उपलब्धिमा उल्लेख छ। वीरमा होल्मोनियमन लेजरबाट युरो सर्जरी सेवा, न्यूरो नेभिगेसन सिस्टमबाट न्यूरो सर्जरी सेवा, डबल लुमिन इन्टेरोस्कोप तथा इन्डोस्कोपिक अल्ट्रासाउन्डबाट ग्यास्ट्रोलोजी सेवा सुरु भएको पनि ६ महिनाभन्दा बढी भइसकेको छ।
प्रतिष्ठानका उपकुलपति डा गणेश गुरुङ पनि यी सेवा र अस्पतालमा नयाँ र आधुनिक उपकरण गगनको पालामा नै भएको स्विकार्छन्। ( वीर अस्पताल चमत्कारिक रुपमा सुधार हुँदै गएको छ : डा गणेश गुरुङ, उपकुलपति )
स्वास्थ्यमा भएको उपलब्धिको ५ नम्बर बुँदामा लेखिएको त्रिवि शिक्षण अस्पतालमा बालबालिकाको कान नसुन्ने समस्याको उपचारका लागि सुरु गरिएको कक्लियर इम्प्लान्ट पनि ओली सरकार आउनुभन्दा अगाडि नै भएको हो।
प्रधानमन्त्री ओलीको उपलब्धिमा स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत २५ जिल्लाका ८० हजार अति विपन्न परिवारको बिमा गरिएको उल्लेख छ। यो कार्यक्रम दीपक बोहरा स्वास्थ्य मन्त्री हुँदा सुरु भएको थियो।
यस्तै, खस्रे रोग (ट्रकोमा) निवारण घोषणा भएको पनि वर्तमान सरकारको उपलब्धि भनिएको छ। 11 संगठनले यो रोग निवारण घोषणा गरेको ओली नेतृत्वकै सरकारको पालामा हो। तर, घोषणा हुनुभन्दा तीन महिना अगाडि नै स्वास्थ्य मन्त्रालयले रोग निवारणका लागि संगठनमा प्रस्ताव पठाएको थियो। यो घोषणा नियमित काम अन्तर्गत नै भएको हो।