समुदायमा आधारित बाल तथा नवशिशु रोगको एकीकृत व्यवस्थापन कार्यक्रम सुदृढीकरणका लागि समता र पहुँच कार्यक्रम प्युठानमा सुरु भएको छ।
बाल तथा नवजात शिशु रोगको रोकथाम तथा मृत्युदरमा कमी ल्याउने उद्देश्यका साथ यस वर्ष सरकारले प्युठान र कपिलवस्तुमा पाइलट प्रोजेक्टको रुपमा यो कार्यक्रम सुरु गरेको बाल स्वाथ्य महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक झाले जानकारी दिए। स्थानीय समुदाय परिचालन गरी सेवाको पहुँच र उपभोगमा वृद्धि गराउने तथा वञ्चितीकरणमा परेका समुदायमा सेवा विस्तार गर्न परीक्षणको रुपमा यो कार्यक्रम ल्याइएको उनले बताए।
जिल्ला जनस्वास्थ्य कार्यालय प्युठानको आयोजनामा भएको सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले कार्यक्रमलाई प्रभावकारी बनाउन सुझावसमेत दिएका छन्। प्रमुख जिल्ला अधिकारी डा कृष्णबहादुर घिमिरेले प्युठानलाई छनोट गरेकोमा धन्यवाद दिँदै यो कार्यक्रमले नवजात शिशुहरुमा लाग्ने रोग न्युनीकरण हुनुका साथै मृत्युदरमा कमी आउने आशा व्यक्त गरे।
यो कार्यक्रमबाट जिल्लामा रहेका ५ वर्षमुनिका २४ हजार ३५० बालबालिका लाभान्वित हुने जनस्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए। प्युठानका ९ स्थानीय तहमध्ये यस वर्ष नौबहनी, गौमुखी र ऐरावती गरी ३ वटा गाउँपालिका, त्यसभित्रका १० वटा स्वास्थ्य संस्था र ३० वटा आमा समूह छनोट गरी कार्यक्रम अगाडि बढाइएको छ।
कार्यक्रम लागू भएका गाउँपालिकाभित्रका स्वास्थ्यचौकी र आमा समूहहरुमा त्यहाँको स्वास्थ्य क्षेत्रका सूचकांकहरुको अवस्थाको विश्लेषण गरी स्वास्थ्य चौकी र आमा समूह छनोट गरिनेछ। जनस्वास्थ्य कार्यालयले तयार पारेको आर्थिक वर्ष २०७२/०७३ र ०७३/०७४ को तथ्यांकलाई विश्लेषण गरी श्वासप्रश्वास, झाडापखला, निमोनिया, नियमित गर्भजाँच लगायतका स्वास्थ्य सूचकांकलाई अध्ययन गरी तुलनात्मक रुपमा अवस्था कमजोर भएका गाउँपालिकाहरु छनोट गरिएको सुवेदीले जानकारी दिए।
हाल नेपालमा प्रतिहजार २३ जना नवजात शिशुको मृत्यु हुने गरेकोमा सन् २०३० सम्म प्रतिहजार १२ मा झार्ने लक्ष्य सरकारले लिएको छ। यस कार्यक्रम अन्तर्गत सन् १९८३ मा झाडापखाला रोगथामका लागि कार्यक्रम सुरु गरिएको थियो।