परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ललितपुरको भैंसेपाटीमा बहिरंग क्लिनिक सुरु गरेको छ।
भैंसेपाटीमा अस्पतालको आफ्नै भवनमा पहिलेकै बन्द सेवा पुन: सुरु गरिएको हो। उक्त क्लिनिकबाट स्त्री, प्रसूति तथा बालरोग विशेषज्ञ सेवा प्रदान गरिनेछ। यस क्लिनिकबाट भैंसेपाटी वरपरको क्षेत्र, दक्षिणकाली, फर्पिङ लगायत क्षेत्रका जनता लाभान्वित हुने अस्पतालले जनाएको छ।
अस्पतालका वरिष्ठ लेखा अधिकृत चन्द्रबहादुर गुरुङले भैंसेपाटीमा २०६८ सालमा बहिरंग सेवा सुरु गरिए पनि एक वर्षमै बन्द भएकोमा त्यसैलाई फेरि सञ्चालन गरेको बताए। त्यसबेला पर्याप्त जनशक्ति नहुँदा सेवा बन्द भएको थियो।
स्त्री, बालरोग विशेषज्ञका साथै दक्ष प्रसूतिकर्मीको व्यवस्था गरिएको क्लिनिकमा अल्ट्रासाउन्ड, आकस्मिक प्रसूति र ल्याब सेवा प्रदान गरिने अस्पतालले जनाएको छ।
भैंसेपाटीमा प्रसूति गृहको सेवा विस्तारका लागि सात वर्षअघि जावलाखेल निवासी हाल अमेरिका बस्ने कमलमणि दीक्षित र श्यामा दीक्षित दम्पतीले २२ आना जग्गा र त्यहाँ बनेको चारतले भवन दान गरेका थिए।
यसैबीच, थापाथलीस्थित प्रसूति गृहभित्रै आजबाट नेपाल इन्भेष्टमेन्ट बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ। अस्पतालको प्रशासनिक कार्य, कर्मचारी, सेवाग्राही र बिरामीहरुको सहजताका लागि शाखा विस्तार गरिएको बैंकले जनाएको छ।
बैंकका कार्यकारी प्रमुख ज्योति पाण्डे र अस्पतालका निर्देशक प्राडा जागेश्वर गौतमले संयुक्त रुपमा बैंकिङ सेवाको शुभारम्भ गरेका थिए। बैंकले अस्पताल परिसरभित्र २४सै घन्टा एटिएम सेवा तथा बैकिंङ कारोबार उपलब्ध गराउने जनाएको छ। सार्वजनिक बिदाका दिन पनि सेवा बन्द नहुने बैंकको भनाइ छ।