त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा फोक्सोको समस्या भएका एक बिरामीको जटिल र दुर्लभ शल्यक्रिया गरिएको छ।
अस्पतालका थोरासिक सर्जन डा विभुषाल थापा नेतृत्वको टोलीले देब्रे फोक्सोमा अक्सिजन पुर्याउने मुख्य नली बन्द भएर गम्भीर अवस्थामा पुगेका ३१ वर्षीय एक बिरामीको सफल शल्यक्रिया गरेका हुन्। शल्यक्रिया सफल भएर डिस्चार्ज भइसकेका ती बिरामीको आग्रहमा उनको नाम भने गोप्य राखिएको छ। शल्यक्रिया गर्ने टिममा डा थापासहित डा रञ्जन सापकोटा र डा निरज मास्के थिए।
डा थापाका अनुसार, खेतको डिलबाट मोटरसाइकल चलाउँदा उनी दुर्घटनामा परेका थिए। दुर्घटनाका कारण उनको छातीमा चोट लागेको थियो। सुरुमा निजी अस्पतालमा उपचार गरेका उनको अन्तिम अवस्थामा मात्र मनमोहन कार्डियोथोरासिकमा पठाइएको थियो।

अस्पतालमा ल्याउँदा उनको देब्रे फोक्सो सुकेर संक्रमण फैलिसकेको थियो। छातीमा चोट लागेर निजी अस्पताल लैजाँदा उनको फोक्सोमा विशेष खालको पाइप राखिएको थियो। सामान्यतया दुर्घटनाका कारण छातीमा चोट लाग्दा करङले घोचेर फोक्सोमा प्वाल परी हावा र रगत निस्कने गर्छ। यस्तो अवस्थामा पाइप राखेर नै फोक्सो जोगाउने काम हुने चिकित्सक बताउँछन्।
‘ती बिरामीको हकमा पनि निजी अस्पतालले त्यही उपचार गरेको थियो। तर, उनको फोक्सो फुलेन। जति गर्दा पनि फोक्सो नफुलेपछि यहाँ रेफर भएको थियो’, डा थापाले भने, ‘हामीले सिटी स्क्यान गरेर हेर्दा त ती बिरामीको देब्रे फोक्सोमा हावा जानुपर्ने मुख्य नली नै बन्द भएको रहेछ।’
डा थापाका अनुसार, दुर्घटनाका कारण कुरकुरे हड्डीको उक्त पाइप भाँचिएर प्वाल नै टालिएको थियो। यस्तो अवस्थामा बिरामीको फोक्सो नै नबाँच्न सक्छ। नली बन्द भएका कारण फोक्सोमा अक्सिजन जान सक्दैन भने फोक्सोबाट बाहिर कार्बनडाइअक्साइड र खकार समेत निस्कन सक्दैन। खकार बाहिर जान नपाएपछि त्यहाँ संक्रमण फैलिएर बिरामीको जीवन नै तलमाथि हुने खतरा रहन्छ। ती बिरामीमा पनि संक्रमण फैलिसकेको थियो।

डा विभुषाल थापा
डा थापाको टोलीले तुरुन्तै उनको शल्यक्रिया गरेर उनको फोक्सो पुन: पुरानै अवस्थामा ल्याउन सफल भएको हो। यस्तो शल्यक्रियालाई 'ब्रोङकेल स्लिभ रिसेक्सन एनास्टोमोसिस' भनिन्छ। डा थापाका अनुसार शल्यक्रियाका क्रममा बिरामीको फोक्सोको भाँचिएको नलीलाई काटेर फाल्दै नली जोड्ने काम भएको छ।
‘यो एकदमै जटिल र दुर्लभ शल्यक्रिया हो’, उनले भने, ‘हामीसँग राम्रो टिम र आवश्यक सम्पूर्ण पूर्वाधार भएका कारण यस्तो जटिल शल्यक्रिया सफल रुपमा गर्न सकेका हौं।’
सामान्यतया दुर्घटनाका कारण फोक्सोको मुख्य नलीमा चोट लाग्दा ६० देखि ७० प्रतिशतको मृत्यु हुन्छ। दुर्घटनामा अधिकांशको दाहिने फोक्सोमा चोट लाग्ने गर्छ। दाहिने फोक्सोको चोट सहजै पत्ता लगाउन सकिने र छिटो उपचार गर्न सकिने हुन्छ। तर, देब्रे फोक्सोमा लागेको चोट पहिचान गर्न पनि समय लाग्ने र समयमै उपचार पनि गर्न समस्या हुन्छ।
डा थापाका अनुसार, मनमोहनमा यस्तो समस्या भएको बिरामीको उपचार गरिएको यो नै पहिलो पटक हो। यस्तो समस्या विश्वभरमा पनि निकै कममा हुने गरेको उनले जानकारी दिए। मनमोहन सेन्टरमा यो समस्यासँगै फोक्सोका अन्य जटिल संक्रमण, क्यान्सर, करङको क्यान्सर लगायतका जटिल समस्याको पनि उपचार हुने उनले बताए।