सरकारले चुरोट तथा सूर्तिजन्य पदार्थमा कर बढाएको छ। आगामि आर्थिक वर्षको बजेट भाषणका क्रममा अर्थ मन्त्री युवराज खतिवडाले चुरोट तथा सूर्तिजन्य पदार्थको कर बढेको जानकारी दिएका हुन्।
सरकारले आजैका मितीदेखि चुरोटका उत्पादन र बिक्रिमा प्रति खिल्ली २५ पैसा स्वास्थ्य जोखिम कर पनि लगाएको छ।
हालसम्म सूर्तिजन्य पदार्थमा २८ प्रतिशत कर लाग्दै आएको छ। 11 संगठनले सूर्तिजन्य पदार्थको कर ७० प्रतिशत भन्दा बढी हुनुपर्ने बताउँदै आएको छ। नेपालमा पनि संगठनले भने अनुसार नै कर बृद्धि गर्नुपर्ने माग लामो समयदेखि उठ्दै आएको छ।
यसैगरी, सरकारले सबै सार्वजनिक स्थान र सवारी साधनमा धुमपान र मद्यपान सेवनलाई पूर्ण रुपमा रोक लगाउने भएको छ। संसदमा अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषण प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।
‘सबै सार्वजनिक स्थान र सवारी साधनमा धुमपान र मद्यपान निषेध गरिनेछ,’ बजेट भाषण प्रस्तुतका क्रममा मन्त्री खतिवडाले भने, ‘मदिरा र सूर्तीजन्य पदार्थको उत्पादन, आयात तथा बिक्रि वितरणलाई कार्यविधि बनाई व्यवस्थित गरिनेछ।’
सूर्तीजन्य पदार्थको नियमन र नियन्त्रणका लागि सरकारले छुट्टै ऐन, नियमावली र निर्देशिका बनाएको छ। तर, यी नियमहरु भने अझैसम्म कार्यान्वयनमा आउन सकेको छैन।