मानिसको व्यक्तित्व जान्न उसको पोशाक, बोली र व्यवहार हेरेरमात्र पुग्दैन । उसले हाँस्दा, बोल्दा देखिने दाँत, फेर्ने सासले समेत व्यक्तित्वमा प्रभाव पार्छ । बोल्न थाल्दा सास गन्हायो, हाँस्दा दाँतभरी लेउ, फोहोर देखियो भने हामी सकेसम्म त्यस्ता व्यक्तिको वरिपरि नै पर्न चाहँदैनौं ।
हामीमध्ये धेरैलाई लाग्न सक्छ कि चुरोट र सूर्तिले हाम्रो दाँत र मुखका विभिन्न भागलाई असर गर्छन् । सूर्तिजन्य पदार्थ चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ति, खैनी, सुपारी र गुट्खालगायतको अत्यधिक प्रयोगले हाम्रो दाँत मात्र नभएर मुखभित्रको गिजा, छालामा समेत नराम्रो असर गरिरहेको हुन्छ ।
धेरैलाई सुपारीले केही हुदैँन भन्ने लाग्न सक्छ । तर यस्तो होइन । धुम्रपानले मुखभित्र असर गरिरहेको भएपनि ठूलो समस्या नआएसम्म हामीलाई थाहा हुदैन । धेरैको दाँतको नियमित जाँच गर्ने बानी हुदैँन । जसले कस्तो समस्या आइरहेको छ भन्ने थाहा हुँदैंन र उपचारमा ढिलाइ हुँदा समस्या देखिन थालेको छ ।
पुरुषमात्र होइन महिलाहरु पनि धूमपान गरिरहेका पाइन्छन् । किनकि अस्पतालमा दाँतको समस्या भएर आउनेमध्ये धेरैलाई धूमपानको प्रयोग पनि समस्या भइरहेको पाइन्छ । विशेषगरि श्रमिक, गाडी चालक तथा तिनका सहयोगी, किसान र गृहिणीहरु बढी दाँत तथा गिजाको समस्या लिएर अस्पताल आउने गरेको पाइएको छ ।
घरमा बस्ने गृहिणीहरुको दिनभर काम नहुने भएकाले तलतल लागेर सुरुमा सुपारी खाने बानी बसाल्छन् र त्यसैलाई लत बनाएको पनि पाइएको छ ।
सुर्तिखैनी, गुट्खा खाए काम गर्न आनन्द हुन्छ भन्ने भम्र पनि भएकाले धेरैले गलत आदत बसालेका हुन्छन् । हामी दन्त शिविरमा उपत्यकाबाहिर जाँदा पनि तराईमा गुट्खा, पान, सूर्ति, चुरोट र पहाडमा बिँडी, सूर्ति, खैनी,चुरोट बढी प्रयोग गर्ने गरेको पाइन्छ । कतिपयले निकै समयदेखि समस्या हुँदापनि बाहिर देखाउँदैनन् ।
धूमपान गर्नेहरुलाई पछि गएर मुखको क्यान्सर हुन्छ । यस्तो लत भएकालाई निम्न समस्या देखिन्छन् :
- मुखमा रातो, सेतो दाग देखिने जुन पछि गएर क्यान्सर हुन सक्छ
- दाँतमा पहेंलो अथवा कालो दाग देखिने
- गिजाले आफ्नो ठाउँ छाड्ने
- दाँत माझ्दा रगत आउने, हल्लिने
- मुखभित्रपट्टि गालामा घाउ हुने
- मुख खोल्न नमिल्ने, यसका कारण खानबोल्न समस्या हुन्छ
- गिजा दुख्ने, सुन्निने
- दाँत कमजोर हुने
- मुखको तालु, जिब्रो, भित्री गालामा हुने नरमपन हट्दै जान्छ, जसले मुख खोल्न समस्या हुन्छ ।
- पिरो,अमिलो खाँदा पोल्ने
माथि उल्लेख गरिएका जस्ता समस्याको समयमै उपचार गराइएन भने त्यसले जटिल रुप लिन सक्छ । मुखको क्यान्सर धेरै पुरुषमा देखिने भएपनि पछिल्लो समय महिलामा पनि देखिन थालेको छ ।
हामीकहाँ आउने बिरामीहरु भित्री गाला, ओठभित्र रातो, सेतो दाग देखिन थालेपछि, मुख खोल्न गाह्रो हुने, दाँतबाट धेरै रगत आउनेजस्ता समस्या निकै बढेपछि मात्र आउनुहुन्छ ।
यस्ता बिरामीको समस्या, उपचारको प्रक्रिया हेरी निको हुन एक हप्तादेखि एक वर्षसम्म समय लाग्छ । त्यसैले धूमपान र सूर्तिजन्य पदार्थको प्रयोग आजैबाट त्यागौँ । स्वस्थ र स्मास्र्ट बनौँ ।
( डा द्वय खनाल र भट्टराई कान्तिपुर डेन्टल अस्पतालमा स्नातकोत्तर तेस्रो वर्ष ( कम्युनिटी दन्त चिकित्सा) अध्ययनरत छन् ।)