वीर अस्पतालमा पहिलो पटक कलेजोको कडापन जाँच्ने आधुनिक उपकरण ‘फाइब्रो स्क्यान’ मेसिन सञ्चालनमा आउने भएको छ। अस्पताललार्इ आज रोटरी क्लब अफ राजधानी र रोटरी कल्ब अफ काठमाडौं मेट्रोले उक्त उपकरण हस्तान्तरण गरेको छ।
अस्पतालमा आज आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई भारत चेन्नाईबाट आएका रोटरीयन सुशिल गुप्ताले उपकरण हस्तान्तरण गरेका हुन्।
हेपाटाइटिस ‘बि’ र ‘सि’ तथा मदिरा सेवनका कारण कलेजो बिग्रिएकाहरूका लागि शल्यक्रियाबिनै कलेजोको कडापन थाहा पाउन सकिने उक्त मेसिन हालसम्म कुनै पनि सरकारी अस्पतालमा छैन।
स्वास्थ्य मन्त्रालय र रोटरी क्लवको संयुक्त लगानीमा उक्त उपकरण वीर अस्पतालमा ल्याइएको हो। दुई करोड रुपैयाँभन्दा बढी पर्ने उक्त फाइब्रो स्क्यानका लागि मन्त्रालयले २० लाख रुपैयाँ लगानी गरेको छ भने बाँकी रकम रोटरीले लगानी गरेको छ।
फाइब्रो स्क्यानले कलेजोको अवस्था जाँच गर्न शल्यक्रियामार्फत बायस्पी गर्नुपर्ने अवस्थाको अन्त्य गर्नेछ। यो उपकरणले बिरामीलाई शल्यक्रिया गर्नुपर्ने अवस्था वा परीक्षणका लागि भारत जानुपर्ने बाध्यता समेत अन्त्य गर्नेछ।
कलेजोमा फाइब्रोसिस (कोष क्षति भएर हुने कडापन)बढी भयो भने यो समस्या देखिन्छ। यसअघि कलेजोमा कडापन भएरनभएको थाहा पाउन बायस्पी ९शल्यक्रियामार्फत कलेजोको टुक्रा काटेर गरिने परीक्षण० गर्नुपर्ने वाध्यता थियो।
कलेजो रोग विशेषज्ञ डा।दिलीप शर्माका अनुसार स्वस्थ कलेजो नरम हुन्छ। कुनै कारणले कलेजोमा समस्या बढ्दै जाँदा यसको कडापन पनि बढ्दै जान्छ। कडापन बढ्दै गएपछि लिभरसिरोसिसको सम्भावना बढी हुन्छ। एकपटक लिभरसिरोसिस भएपछि जीवनभर निको हुँदैन।
कलेजो कडा भएमा हातखुट्टा सुन्निने, पेटमा पानी जमेर फुल्ने, रगत बान्ता हुने र बेहोस हुने समस्या देखा पर्छ। यो उपकरण कलेजो सम्बन्धी समस्या भएका बिरामीका लागि बरदान भएको कलेजोरोग विशेषज्ञ डा शर्माले बताए।
‘कलेजो क्यान्सरको अवस्थामा पुगेरनपुगेको र हेपाइटिस बि र सिको उपचार प्रभावकारिता जाँच्न फाइब्रो स्क्यान अत्यावश्यक उपकरण हो,’ उनले भने।
कलेजो बिग्रिएर अस्पताल आइपुग्ने बिरामीमध्ये ५० प्रतिशतभन्दा बढीको कारण मदिरा सेवन हुने गरेको पाइन्छ। केही वर्षअघिसम्म ५०–६० वर्षको उमेरका मदिरा सेवनकर्तामा देखिने यो समस्या अहिले ३५ देखि ४० वर्ष उमेर समूहका मानिसमा पनि देखिन थालेको छ।
डायलाइसिस मेसिन हस्तान्तरण
यसैगरी, अस्पताललाई आज ९ वटा डायलाइसिस उपकरण पनि हस्तान्तरण गरिएको छ। रोटरीले अस्पताललाई मिर्गौला फेल भएकाको उपचारमा सहयोग पुगोस भन्दै डायलाइसिस मेसिन दिएको हो।
अस्पतालले उक्त ९ मेसिनमध्ये २ वटा आइसियुमा राख्ने तयारी गरेको छ। बाँकी मेसिनबाट नियमित डायलाइसिसका साथै हेपाटाइटिस बी, सी र एचआईभी संक्रमितलाई डायलाइसिस सेवा उपलब्ध गराइने छ।