नवनियुक्त उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गरे लगत्तै एउटा फाइल सदर गरेका छन्। स्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गरेपछि मन्त्री यादवले स्वास्थ्य सचिव डा पुष्पा चौधरीले दिएको फाइल सदर गरेका हुन्।
मन्त्री यादवले लोक सेवाबाट सिफारिस भएका ११ औं तहका ४ जना डाक्टरको नियुक्तीको फाइल मन्त्रीपरिषदमा पठाउने फाइल सदर गरेका हुन्। मन्त्रीले सदर गरेको फाइलमा डा हरिहर वस्ती, निशाज्योती श्रेष्ठ, अनिता जिसी र रुपेश कुमार यादवको नाम छ।
११ औं तहमा नाम निकाल्न सफल उनीहरुको नियुक्तीको निर्णय मन्त्रीपरिषदबाट हुनुपर्छ। सोही अनुसार मन्त्री यादवले मन्त्रीपरिषद बैठकमा लैजाने उक्त फाइलमा आज हस्ताक्षर गरेका हुन्।
शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएसँगै स्वास्थ्य मन्त्री यादवले मन्त्रालयमा पुगी पदभार ग्रहण गरेका थिए।
उनले पदभार ग्रहण गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको पक्षमा आफूले काम गर्ने बाचा गरेका छन्। स्वास्थ्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको थप अध्ययन गरेर आफू अघि बढ्ने बताए।
संघीय समाजवादी फोरमका अध्यक्ष यादव आजै आफ्नो पार्टीको नेतृत्व गर्दै सरकारमा सामेल भएका हुन्।