सरकारले स्वदेशमा नै औषधि उत्पानद गरी आत्मनिर्भर हुने नीति लिएकोमा नेपाली औषधि उत्पादन कम्पनीहरुले खुसी व्यक्त गरेका छन्। नेपाली औषधि उत्पादकहरुको छाता संस्था नेपाल औषधि उत्पादक संघ (एपोन)ले सरकारको उक्त निर्णयको स्वागत गरेको हो।
एपोनका अध्यक्ष दीपकप्रसाद दाहालले स्वास्थ्यखबरसँग कुरा गर्दै भने, ‘औषधिमा आत्मनिर्भर हुने नीतिको खुलेर स्वागत गर्नुपर्छ, तर आर्थिक अध्यादेशमा भने नयाँ केही नदेखिएकाले सरकारसँग यो विषयमा छलफल गर्नुपर्ने देखिन्छ।’
उनले नीतिगत रुपमा नै औषधिमा आत्मनिर्भर हुने र आधारभुत संरक्षणका कुरा आएकाले सरकारले केही सोचेर नै यो कुरा ल्याएको हुनुपर्ने भन्दै सकारात्मक रुपमा लिएको बताए। ‘सरकारले बजेट भाषणका क्रममा आएका कुरा कार्यान्वयनमा ल्याउनुपर्छ,’ उनले भने, ‘कार्यान्वयनमा ल्याउने कुरा कर्मचारीतन्त्रको भएकाले सरकारले यसतर्फ पनि अलि बढी जोड दिनुपर्ने हुन्छ।’
उनले नेपाली औषधि उद्योगलाई प्रोत्साहन गर्ने, कर लगयतका कुरामा छुट दिने, नेपालमा प्रशस्त उत्पादन हुने औषधि विदेशबाट आयात गर्न कडाई गर्ने, यहाँ उत्पादन हुने औषधिका कच्चा पदार्थ मात्र आयात गर्न दिने हो भने पनि धेरै माथि पुग्न सकिन्छ। उनले सरकारले आधारभुत संरक्षणका विषयमा औषधि उद्योगले विगतमा दिएका सुझाबलाई कार्यान्वयन गर्ने हो भने नेपाल दुई वर्षमा ८० प्रतिशत भन्दा बढी आत्मनिर्भर हुनसक्ने बताए।
‘हामी हरेक कुरामा सक्षम छौं । त्यस कारण यही समयलाई सदुपयोग गरेर नेपाली उद्योगलाई अगाडि बढाउने नीति कार्यानवयन गर्न सके औषधिमा सहजै आत्मनिर्भर हुन सकिन्छ’ उनले भने, ‘औषधि उद्योग प्राविधि क्षेत्र भएकाले कम्पनीहरुमा प्रयोग हुने प्राविधिक उपकरण तथा सामाग्री आयातमा भन्सार छुट दिनुपर्छ ।’ उनले सरकारको प्राथमिकता बढ्दै जाने हो भने कम्पनीले पनि ढुक्कसँग लगानी र उत्पादन बढाउँदै लैजाने बताए।
उनका अनुसार शतप्रतिशत बजार हिस्सा नेपाली कम्पनीको मात्र हुन्छ भन्ने त हुँदैन । किनभने विकसित देशहरुले पनि केही औषधि बाहिरबाटै आयात गर्छन् । भारत, बंगलादेश तथा अन्य विकसित देशहरुले पनि केही प्रतिशत औषधि आयात गरिरहेका छन् । नेपाल पनि त्यो अवस्थामा पुग्न सक्ने उनी बताउँछन्।
एपोनको तथ्यांक अनुसार लामो समयदेखि नेपालको कुल औषधि बजारमा नेपाली उत्पादनको हिस्सा ४५ प्रतिशतको हाराहारीमा सीमित छ। विदेशी औषधिको हिस्सा बढी हुनुको पछाडि सरकारी नीति नै प्रमुख कारण भएको एपोनको ठहर छ। गुणस्तरका हिसाबमा नेपाली उत्पादन विश्वका कुनै पनि कम्पनीको उत्पादनसँग कम नभएको नेपाली उत्पादक बताउँछन्।
विभिन्न ७७ प्रकारको औषधिमा नेपाल आत्मनिर्भर भइसकेको औषधि उत्पादकहरु बताउँछन् । नेपालमा हाल ५५ वटा नेपाली औषधि कम्पनी सञ्चालित छन् । ती सबै कम्पनीमा कुल २२ अर्बको लगानी रहेको छ । सञ्चालनमा रहेका नेपाली कम्पनीमध्ये ३५ वटाले 11 संगठनको कुशल औषधि उत्पादन अभ्यास ९जिएमपी० प्रमाणपत्र पाएका छन् । बाँकी २० वटाले जिएमपीका लागि प्रक्रिया अगाडि बढाएका छन् । बजारमा औषधि विक्री–वितरणका लागि जिएमपी लिनु अनिवार्य हुन्छ । त्यसैले २० वटा कम्पनीले जिएमपी पाएपछि नेपाली औषधि उत्पादनको आकार अझ बढ्नेछ ।
नेपालमा सामान्यदेखि जटिल रोगका धेरैथरि औषधि उत्पादन हुन्छन् । औषधि व्यवस्था विभागकै तथ्यांक हेर्ने हो भने, अहिले नेपालमा सात हजार सात सय २७ ब्रान्डका औषधि उत्पादन भइरहेका छन् । भारत, बंगलादेश लगायतका देशबाट ९ हजार चार सय ३५ ब्रान्डका औषधि आयात गरिन्छ । औषधि विक्रीका लागि नेपालमा दुई सय ९४ वटा त विदेशी कम्पनी नै दर्ता भएका छन् ।