भारतको मेदान्त अस्पतालमा उपचार गरेर स्वदेश फर्केका राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि बिरामी भएका छन्। भारतबाट फर्केको २४ घण्टा पनि नबित्दै पुनः स्वास्थ्यमा समस्या आएपछि घिमिरेलाई ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ।
घिमिरेलाई आज बिहान ६ बजे अस्पतालमा भर्ना गरिएको हो। उनको अहिले अस्पतालको हाइकेयर युनिटमा उपचार भइरहेको छ। उनको उपचारमा डा चक्रराज पाण्डे नेतृत्वको टोली सक्रिय रुपमा लागेको छ। टोलीमा डा रवि महत, डा विवेक शर्मा, डा ओममूर्ती अनिल लगायत छन्।
अस्पतालका अनुसार घिमिरेलाई बाइल्याट्रल निमोनिया देखिएको छ। उनको दिसामा रगत देखिने समस्या पनि पुनः देखिएको अस्पतालले जनाएको छ।
नयाँदिल्ली जानुअघि उनलाई बैसाख २८ गते धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो। आन्तरिक रक्तश्राव नरोकिएपछि उनलाई थप उपचारका लागि जेठ ९ गेत मेदान्त अस्पताल लगिएको थियो। त्यहाँ चिकित्सक डा रणवीर सुदको टोलीले उनको उपचार गरेको थियो।
स्वास्थ्यमा धेरै सुधार आइसकेकाले चिकित्सककै सल्लाहमा भारतबाट डिस्चार्ज गरिएको छोरी उषा अधिकारीले जानकारी दिइन्। तर अाइतबार पुन: समस्या देखिएपछि ग्राण्डीमा ल्याइएको हो।
करिब ४ महिनादेखि अस्वस्थ देखिएका ९९ वर्षीय घिमिरेको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने घोषणा गरिसकेको छ।