पाँच महिनादेखि तलब नपाएपछि भरतपुर महानगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन्।
माघ महिनायता तलब नपाएपछि महानगरपालिकाभित्रका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १ सय ४ जना कर्मचारीले महानगरपालिकामा धर्ना दिएका हुन्। महानगरपालिकाका २३ स्वास्थ्य संस्थाका ९९ जना स्थायी र ५ जना मेडिकल अधिकृतले तलब नपाएका हुन्।
महानगरपालिकाले आफ्नै कर्मचारीहरुलाई तलब खुवाउन ध्यान नदिँदा अहिले समस्या आएको बताउँदै कर्मचारीहरु आन्दोलन गर्न बाध्य भएको उनीहरुले बताएका छन्।
५ महिनासम्म तलब नपाउँदा दैनिक गुजारा चलाउनै समस्या भएको उनीहरुले बताएका छन्।
महानगरका प्रमुख प्रशासकीय प्रमुख नेत्रप्रसाद सुवेदीले स्वास्थ्य मन्त्रालयमा कर्मचारीको तलबका लागि छिटो रकम निकासा गर्न पहल भइरहेको बताए।
महानगरपालिकाका लेखा प्रमुख खडानन्द अधिकारीका अनुसार, १ सय ४ जना कर्मचारीलाई लाग्ने ४ करोड ५५ लाख ४१ हजारमध्ये मन्त्रालयले सशर्त अनुदान मार्फत हालसम्म २ करोड ७५ लाख ४४ हजार मात्र पठाएको छ। अझै १ करोड ८० लाख अपुग रहेको उनले बताए।