बाँके जिल्लाका स्थानीय तहमा कार्यरत स्थास्थ्यकर्मीहरुले चार महिनादेखि तलब पाएका छैनन् । समयमै तलबभत्ता निकासा आफूहरुलाई समस्या परेको भन्दै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन्।
बाँकेका ६ वटा स्थानीय तहमध्ये ५ वटा स्थानिय तहमा कार्यरत करिब तीनसय स्वास्थ्यकर्मीहरुले महिनौंसम्म सेवा सुविधा नपाएको बताइैको छ । तत्काल तलब भत्ता उपलब्ध गराइ दिने ब्यबस्था मिलाइ दिन आग्रह गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका हुन्।
नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष टेकबहादुर केसी, राष्ट्रिय स्वास्थ्यकर्मी संघका अध्यक्ष प्रकाश गौतम, अखिल नेपाल राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संघका अध्यक्ष कबिराम बुढाथोकी, नेपाल स्वास्थ्य प्राविधिक संघका अध्यक्ष खडग रोक्का र नेपाल 4 संघ, बाँकेकी अध्यक्ष लक्ष्मी केसीले संंयुक्तरुपमा ज्ञापनपत्र बुझाएका हुन्।
बाँकेको जानकी गाउँपालिका बाहेक अन्य ५ वटा स्थानीय तहमा कार्यरत स्वास्थयकर्मीहरुले दुईदेखि चार महिनासम्मको तलब भत्ता नपाएको राष्ट्रिय स्वास्थ्यकर्मी संघका अध्यक्ष गौतमले बताए ।
स्थानीय तहमा खटिएका स्वास्थ्य संयोजक, स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत तथा ,स्थानीय तहमा निर्वाचित प्रमुख तथा उप–प्रमुखहरुको कमजोरीका कारण काम गरेर कर्मचारीहरुले समयमा तलबभत्ता पाउन नसक्ने अबस्था आएको अध्यक्ष गौतमले बताए।
समयमा तलबसम्म नपाउने अवस्थाका कारण आम जनतालाई सहज रुपमा स्बास्थ्य सुबिधा प्रदान गर्न समेत कठिन भएको स्वास्थ्यकर्मीहरुले बताएका छन्।
लामो समयसम्मको पारिश्रमिक नपाएपछि घर खर्च चलाउन समस्या भएको र बालबालिकाको मासिक शुल्क तिर्न समेत समस्या भएको उनीहरुले गुनासो गरेका छन्।
महिला स्वास्थ्यसेविकाहरुले भिटामिन खुवाएको भत्ता समेत पाउन नसकेको उनीहरुले बताएका छन्।