हेटौंडा- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली बजारमा आयात भएका केमिकलयुक्त माछाले प्रजनन क्षमता घटाइरहेको बताएका छन्।
सोमबार प्रदेश नम्बर ३ को संसदलाई सम्बोधन गर्दै ओलीले ‘कुहिएका माछामा मार्फिन हालेको हुन्छ र त्यो खाँदा नेपालीको प्रजनन क्षमता नै घटाइरहेको छ।’ उनले त्यस्ता माछा नखान आग्रह गर्दै भने, ‘कुहिएका माछा आयात गरेर नखाए पनि हुन्छ। कुहिएको माछामा हालेको मर्फिनले १० वर्षभित्र त्यो मान्छे प्रजनन क्षमता हुँदैन। नपुंसकता बढ्छ। अब नेपालमा परिवार नियोजन नगरे पनि हुन्छ, त्यही माछा खाए हुन्छ।’
उनले माछाजस्तै केरा तथा केही फलफूलमा समेत यस्ता विषाक्त केमिकल हुने गरेको भन्दै नखान सुझाव दिए। ‘यस्ता कुरा त किनेर नखाँदा पनि हुन्छ नि,’ उनले थपे, ‘त्यस्ता विषाक्त चिज हामी किनेर खाइरहेका छौं। तर, हामीमा किन पैसा चिलाउँछ थाहा छैन।’
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले रेडबुल लगायतका केमिकलयुक्त जुससमेत नपिउन आग्रह गरे। ‘बजारमा कुन्नि केके जुस छन्। वास्तवमा ती जुस होइनन्, केमिकलयुक्त फ्लेवर मात्र हुन्। जे फलफूलको जुस भनिएको हुन्छ। त्यो फलफूलको जुसमा बोक्रासमेत हुँदैन,’ उनले भने, ‘त्यसकारण स्वास्थ्यमा असर गर्ने यस्ता केमिकलयुक्त जुस पिउनु हुँदैन।’
प्रधानमन्त्री ओलीले नेपालीहरु उपभोगवादी भएको भन्दै उत्पादनमा लाग्न जोड दिए। उनले भ्रमपूर्ण उत्पादनमा लाग्नुभन्दा उत्पादन बढाउनतर्फ लाग्न सुझाए।