सरकारले नेपालको विभिन्न स्थानमा पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरुको उद्धार र उपचारका नाममा ठगी हुने गरेको भन्दै छानविन समिति गठन गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको निर्देशनमा आज ५ सदस्यीय एक समिति गठन भएको हो। समितिको संयोजक सहसचिव घनश्याम उपाध्याय छन्। यस्तै सदस्यहरुमा पर्यटन विभागका महानिर्देशक, डिआइजी मनोज न्यौपाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक सुभाष झा र मन्त्रालयका सपसचिव प्रकाश शर्मा ढकाल छन्। ढकाल समितिका सदस्य सचिव हुन्।
मन्त्रालयले पर्यटकहरुलाई लेक लाग्ने लगायतका स्वास्थ्य समस्इा तथा अन्य विपतको उद्धारको नाममा ट्रेकिङ÷ट्राभल्स कम्पनी, हेलिकप्टर सेवा प्रदायक संस्था र अस्पताल समेतको मिलेमतोमा फर्जी विवरण तयार गरी बिमा रकम दाबी गर्ने र ठगी गर्ने गुनासो आएपछि समिति गठन गरेको हो।
समितिले यी विषयमा आवश्यक अनुसन्धान तथा छानविन गरी सत्यतथ्य पत्ता लगाउने र समाधानका उपाय सरकारलाई सुझाउने छ। समितिलाई असार १५ सम्मको समयसिमान दिइएको छ।
