नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)की सांसद सुजिता शाक्यले राज्यको आवश्यकता अनुसार औषधिको आयात र उत्पादन गर्नुपर्ने बताएकी छन् । उनले औषधि संवेदनशिल विषय भएकाले कानूनको दायराभित्र रहेर उत्पादन, आयात र वितरण गर्नुपर्ने बताएकी हुन्।
नेशनल फार्मेसी एशोसिएसन अफ नेपालको आयोजनामा ‘गुणस्तरीय स्वास्थ्य सेवाका लागि नयाँ औषधि नीतिको आवश्यकता’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै शाक्यले यस्तो बताएकी हुन्। शाक्यले स्वास्थ्य जनशक्तिले आ–आफ्नो ठाउँबाट स्वास्थ्य क्षेत्रको विकासका लागि योगदान पु¥याउन आग्रह गरिन् । उनले भनिन्, ‘आ–आफ्नो आफ्नो ठाउँबाट राम्रो काम गर्दै जानुपर्छ । सानोतिना कुरामा आफ्नो हौसला हार्नुहुँदैन अनि मात्र गुणस्तरीय सेवा प्रदान गर्न सकिन्छ।’ मिलेर अघि बढ्ने हो भने गुणस्तरीय सेवा प्रदान गर्न सहज हुने धारणा शाक्यको थियो।
उत्पादक, फर्मासिष्ट र वितरण, आयातकर्ता लगायत सरोकारवालाको कार्यशाला गोष्ठीमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्दै फर्मासिस्टहरुले गर्नु पर्ने काम बारे धारणा राखेका थिए ।
सरोकारवालाहरुले औषधिको मूल्य निधारण गर्नुपर्र्ने, आवश्यकताअनुसार आयात र उत्पादन गर्नुपर्ने र वितरण प्रणलीलाई राज्यको प्रणालीमा व्यवस्थापन गर्नुपर्ने धारणा सरोकारवालाहरुले राखेका थिए।
फार्मेसीहरुले गुणस्तरीय सेवा प्रदान गर्न नसकेको फार्मेसी काउन्सिलका पूर्वअध्यक्ष बाबुराम हुमागाइँले बताए । उनले भने, ‘फर्मासिस्टहरुले पसले भएर कमिसन खानेमात्र होइन । ३ करोड नेपालीलाई गुणस्तरीय सेवा प्रदान गर्ने दायित्व पनि हामीहरुमाथि छ ।’ उनले जहाँ औषधि, त्यहाँ फर्मासिस्ट हुनुपर्ने बताए ।
छलफल कार्यक्रममा बोल्दै नेपाल औषधि उत्पादन संघ तथा लोमसको निर्देशक प्रज्वलजंग पाण्डेले केही प्रश्नहरुको उत्तर खोज्नैपर्ने सयमा आएको बताए । ‘नेपाल कुन–कुन औषधिमा आत्मनिर्भर छ ? आयातमा कुनकुन औषधिलाई प्रथामिकता दिने र प्रतिबन्ध लगाउने ? नेपालकै उत्पदित औषधि कसरी गुणस्तरीय बनाउने ? भन्ने विषयमा सोच्न जरुरी छ,’ उनले भने ।
क्याल्सियम, मल्टी भिटामिनहरु जस्ता औषधिहरु बिना अनुमति आयात गरेर विक्री वितरण भइरहेको कुरा पनि कार्यक्रममा उठेको थियो । यसमा अनुगमन जरुरी रहेको बताइएको थियो ।