सरकारले विदेशका विभिन्न अस्पतालमा कोमामा उपचारत नेपाली कामदारलाई नेपाल ल्याई उपचार गर्ने तयारी थालेको छ। विभिन्न देशमा गरि २३ जना नेपाली कामदार कोमामा राखेर उपचार भइरहेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ।
उनीहरु वैदेशिक रोजगारीका क्रममा घाइते अथवा बिरामी भई कोमामा पुगेको बोर्डको भनाइ छ। कोमामा उपचार भइरहेका बिरामीलाई नेपाल ल्याएर उपचार गर्ने तयारीका साथ गृहकार्य र छलफल सुरु गरिएको बोर्डले जानकारी दिएको छ। उनीहरुलाई नेपाल ल्याईसकेपछि उपचारका लागि आवश्यक पर्ने अस्पताल र अन्य सुविधाका विषयमा गृहकार्य भइरहेको बोर्डको भनाइ छ।
कतारमा ११ जना, साउदी अरबमा ७ जना, कुवेतमा ४ जना र ओमनमा १ जना गरि हालसम्म २३ जना नेपालीको विदेशका विभिन्न अस्पतालको कोमामा राखेर उपचार भइरहेको बोर्डले जानकारी दिएको छ। कोमामा उपचाररत बिरामीको खर्च रोजगारदाता कम्पनीले नै व्यहोरिरहेका छन्।
रोजगारको खोजीमा विभिन्न देश गएका उनीहरु कस्तो रोग र के कारणले कोमामा पुगेका हुन् भन्ने विषयमा यथेष्ट जानकारी नभएको बोर्डले जनाएको छ। विदेशका अस्पतालमा जस्तो उनीहरुलाई नेपालका अस्पतालमा उपचार तथा हेरचाह नपुगे समस्या सिर्जना हुनसक्ने बोर्डको भनाइ छ। यो विषयमा बोर्डले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र विभिन्न सरकारी तथा निजी अस्पतालहरुसँग छलफल गरिरहेको जनाएको छ।
विदेशका सुविधासम्पन्न अस्पतालहरुमा कोमामा रहेका बिरामीलाई नेपाल ल्याएपछि उपचार गर्ने अस्पताल र सोका लागि आवश्यक पर्ने भेन्टिलेसनलगायत उच्चतम सुविधाहरुको व्यवस्था नभएसम्म उनीहरुको उपचारमा समस्या हुने सरकारी अस्पतालका डाक्टरहरुले बताउँदै आएका छन्।
वैदेशिक रोजगारका क्रममा घाइते र बिरामी भएका अन्य धैरै कामदारको कोमामा राखेर उपचार भईरहेको बोर्डको बुझाई छ। विदेशी अस्पतालमा कोमामा रहेका कामदारको खोजी भइरहेको बोर्डले जनाएको छ।