कर्णाली प्रदेशमा १ सय १० जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन्। आर्थिक वर्ष २०७३/०७४ मा १० वटा जिल्लामा उक्त संख्यामा नयाँ बिरामी फेला परेका हुन्।
एक वर्षको अवधिमा स्वास्थ्य संस्थामा जाँच गर्न आएका तथा विभिन्न अभियानमा उक्त संख्यामा बिरामी फेला परेका मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षय–कुष्ठरोग अधिकृत पदम केसीले जानकारी दिए। प्रदेशमा सबैभन्दा बढी बिरामी सुर्खेतमा फेला परेका छन्। जिल्लामा एक वर्षको अवधिमा ३१ जना बिरामी फेला परेको तथ्यांकमा उल्लेख छ।
त्यसैगरी, जाजरकोटमा २४, सल्यानमा १४, रुकुम र कालीकोटमा १०/१० जना नयाँ बिरामी फेला परेको निर्देशनालयले जनाएको छ। यस्तै, दैलेखमा सात, जुम्ला र मुगुमा पाँच/पाँच जना, हुम्लामा तीन र डोल्पामा एकजना नयाँ बिरामी फेला परेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ।
निर्देशनालयका अनुसार पहाडीभन्दा पनि तराईका जिल्लामा कुष्ठरोगका बिरामी बढी फेला परेको जनाएको छ। निर्देशनालयका क्षय–कुष्ठरोग अधिकृत केसीका अनुसार सामाजिक विभेदका कारण कुष्ठरोगका बिरामी खुल्न नसकेको बताए।
सरकारले कुष्ठरोग उन्मूलन भएको घोषणा गरेपनि सुर्खेतमा नयाँ बिरामी फेला परेपछि यसलाई निर्मूल पार्नका लागि अभियान सञ्चालन गरिने भएको छ। जेठ २७ देखि ३१ गतेसम्म कुष्ठरोग प्रभावित स्थानमा अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय, सुर्खेतका क्षय–कुष्ठरोग अधिकृत गणेशभक्त गौतमले जानकारी दिए।
कुष्ठरोग अभियान-२०७५ को बारेमा जानकारी दिने उद्देश्यले बुधबार कार्यालयले आयोजना गरेको सञ्चारकर्मीबीचको अन्तक्रिया कार्यक्रममा गौतमले जिल्लाका साविकका २० वटा गाविसका स्वास्थ्य चौकीमा विभिन्न कार्यक्रमको आयोजना गरिने बताए। यसका लागि तीनवटा समितिमार्फत घरदैलो अभियान सञ्चालन गरिनेछ।
यसअन्तर्गत खोजकर्ता टोलीले प्रत्येक घरदैलोमा गएर कुष्ठरोगका लक्षण भएका व्यक्तिको खोजी गर्नेछ भने रोग निदान टोलीले खोजिएका व्यक्तिको रोगको निदान गर्नेछ।
उपचारमा आउन नसकेका कुष्टरोगका बिरामीलाई खोजी गरी रोगको निदान गरी उपचार पक्रियामा ल्याउनको लागि अभियान सुरुवात गरिएको क्षय–कुष्ठरोग अधिकृत गौतमले बताए।
उनले कुष्ठरोग लागेको थाहा पाउने बित्तिकै तुरुन्तै उपचार गरेमा शरीर अंगभंग हुनबाट बच्न सकिने प्रष्ट पारे। गौतमले साविकका बिजौरा, गुटु, बाबियाचौर, सालकोट, छिन्चु, लेकपराजुल, मैनतडा, साटाखानी, गुमी, मेहलकुना, राकम र वीरेन्द्रनगरको लाटीकोइली र कटकुवालगायत २० स्थानमा अभियान सञ्चालन गर्ने बताए।
आर्थिक वर्ष २०७३/०७४ मा सुर्खेत जिल्लामा ३१ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेको कार्यालयको तथ्यांक रहेको छ। जिल्लाको पूर्वी भागका साविकका छिन्चु, मैनतडा, मेहलकुना र पश्चिमको सालकोटलगायतका गाविसमा बढी बिरामी फेला परेका जनाइएको छ। कार्यक्रममा मध्यपश्चम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत विनोद आचार्यले अझै पनि कुष्ठरोगका बिरामी खुलेर उपचार गर्न नआउने भएकाले पनि यस्ता अभियानबाट उनीहरुलाई उपचारमा ल्याइने दावी गरे।
कार्यालयका शाखा अधिकृत हरि पौडेल र वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतन वाग्लेले यस अभियानलाई सफल बनाउन सम्पूर्ण निकाय तथा स्थानीयलाई सहयोगका लागि आग्रह गरे। रासस