जनकपुर- प्रदेश २ को सरकारले आगामि आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आज प्रदेश संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रदेश २ मा मुटु रोग उपचारका लागि दुई वटा अस्पताललाई मुटु उपचार केन्द्रमा विकास गरिने उल्लेख छ।
नीति तथा कार्यक्रममा प्रदेश २ अन्तर्गत वीरगञ्जमा रहेको नारायणी उपक्षेत्रिय अस्पताललाई हृदयरोग उपचार केन्द्रका रुपमा विकास गर्ने र जनकपुर अञ्चल अस्पतालमा हृदयरोग उपचारका लागि काठमाडौंस्थित गंगालाल अस्पतालको युनिट स्थापना गर्ने उल्लेख छ।
यसका साथै प्रदेश २ मा प्रादेशिक स्तरमा क्यान्सर रोग अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्ने कार्य यसै वर्षदेखि सुरु गर्ने, ट्रमा सेन्टर स्थापना गर्ने तथा गजेन्द्र नारायण सिंह अञ्चल अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
महिलाहरुको स्वास्थ्य स्थितिमा सुधार ल्याउन सुरक्षित मातृत्व कार्यक्रमलाई बिशेष प्राथमिकता दिइने र गुणस्तरीय प्रसूती सेवा प्रदान गर्न स्थानीय तहहरुसँग समन्वय गरी प्रत्येक गाउँमा वर्थिङ सेन्टर स्थापना गर्ने कार्यक्रम पनि सार्वजनिक गरिएको छ।
यी हुन् नीति तथा कार्यक्रममा स्वास्थ्यका विषय
- स्वास्थ्य क्षेत्रमा सार्वजनिक, निजी सहभागिता तथा साझेदारीको सम्भावनाको क्षेत्र पहिचान गरिने छ।
- नारायणी अस्पताल वीरगंजलाई ह्दयरोग उपचार केन्द्रको रुपमा विकास गरिने छ । जनकपुर अंचल अस्पतालमा ह्दयरोग उपचारको लागि काठमाडौको गंगालाल अस्पतालको युनिट खडा गरी ह्दयरोग सन्दर्भमा अत्याधुनिक उपचारसेवा जनकपुरमै उपलब्ध गराइने छ । प्रादेशीक स्तरमा अर्बुद रोग अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न यसै बर्ष देखि कार्य प्रारम्भ गरिने छ । प्रदेश स्तरीय ट्रमा केन्द्र स्थापना गर्न पहल गरिने छ । यसका साथै गजेन्द्र नारायण सिंह अंचल अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकसित गर्नुको साथै गजेन्द्र नारायण सिंह स्वास्थ्य तथा चिकित्सा विश्वबिद्यालय स्थापना गरिने छ।
- प्रदेशमा स्वास्थ्यको वर्तमान अवस्था अध्ययन गर्न सुझाव कार्यदल गठन गरिने छ । सो कार्यदलले प्रदेश भित्र स्वास्थ्यको वर्तमान अवस्था, स्वास्थ्य संस्था, स्वास्थ्य शिक्षण संस्थान आदिहरुको अध्ययन् गरी पेश गरेको प्रतिवेदनको आधारमा प्रदेश सरकारले स्वास्थ्य सम्बन्धमा नीति तथा कानून निर्माण गर्नेछ।
- महिलाहरुको स्वास्थ्य स्थितिमा सुधार ल्याउन सुरक्षित मातृत्व कार्यक्रमलाई बिशेष प्राथमिकता दिइनेछ। साथैं गुणस्तरीय प्रसूती सेवा प्रदान गर्न स्थानीय तहहरुसँग समन्वय गरी प्रत्येक गाउँमा वर्थिङ्ग सेन्टर स्थापना गरिनेछ।
- मदिरा लगायत अन्य लागू पदार्थको उत्पादन, आयात, व्यापार, बेचबिखन र सेवनमा मापदण्ड लागू गरी नियन्त्रण, अनुगमन र नियमन गरिनेछ।
- योग, आयुर्वेद, होमीयोप्याथी, युनानी तथा अन्य प्राकृतिक र बैकल्पिक चिकित्सा प्रणालीहरुको संरक्षण सम्बर्धनमा जोड दिदै यस प्रणालीहरुलाई अस्पतालहरुसंग क्रमशः आबद्ध गरिदै लैजाने छ।
- आयुर्वेद चिकित्सा पद्दतिमा प्रयोग हुने जडीबुटी, वनस्पती तथा जीवजन्तुको परम्परागत ज्ञान र सीपको अभिलेखीकरणका साथै वर्तमानमा उपलब्ध जडीबुटी औषधीका ज्ञाताहरुसंग सम्पर्क गरी निजहरुको ज्ञानको अभिलेखीकरण समेत गरिने छ।