सल्लेरी– सोलुखुम्बुमा स्वास्थ्य बीमा गरे पनि सेवा नपाएको बिमितले गुनासो गरेका छन्। जिल्लामा स्वास्थ्य बीमा गराएवापत नियमअनुसार पाउनुपर्ने औषधि नपाएको उनीहरुको गुनासो छ। सेवा नपाउनेमा सर्वसाधारणदेखि जनप्रतिनिधिसमेत रहेका छन्।
सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले आफैले स्वास्थ्य बीमाको शुभारम्भ गरेको भए पनि सेवा नपाएको बताए। उनले भने,‘स्वास्थ्य बीमाको म आफैले शुभारम्भ गरेको थिएँ। एक दिन बिरामी भएर अस्पताल जाँदा औषधि नै पाइँन।’, शेर्पाले भने,‘यस्तो हुँदा साह्रै दुःख लाग्यो।’
सोलुदूधकुण्ड नगरपालिका–७ निवासी गोम्बु शेर्पाले पनि स्वास्थ्य बीमा गराए पनि अस्पतालमा औषधि नपाएको बताए। शेर्पाले भने,‘बिरामी हुँदा ५० हजार रुपैयाँ बराबरको उपचार सेवा पाइन्छ भन्थे तर एक रुपैयाँकको पनि पाइन।’ अस्पतालमा निःशुल्क पाइने औषधि नपाएको भन्दै उनले सम्बन्धित निकायलाई सुधारका लागि अनुरोध गरे।
यता स्वास्थ्य बीमा बोर्ड काठमाडौंमार्फत सोलुखुम्बुका दर्ता अधिकारी प्रदीप बस्नेतले आफूहरुले औषधि खरिदका लागि अस्पताललाई भुक्तानी दिएको भए पनि खरिदमा ढिलाइ हुँदा समस्या भएको बताए। चार महिनाअगाडि नै औषधि खरीदका लागि पेश्कीवापत भुक्तानी दिएको भए पनि जिल्ला जनस्वास्थ्य कार्यालयले औषधि खरिद नगरेको उनको भनाइ छ।
यस विषयमा जिल्ला जनस्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डाक्टर मिङमार छिरिङ शेर्पाले स्वास्थ्य बीमाको औषधि केही दिन भित्रैमा जिल्ला आइसक्ने दावी गरे। डाक्टर शेर्पाले चार÷पाँच दिन भित्रैमा जिल्लामा स्वास्थ्य बीमा बापतको करीब ९० प्रकारका औषधि उपलब्ध हुने जानकारी दिए।
बीमा बापत ५ लाख रुपैयाँ ऋण लिएर औषधि खरिद प्रक्रिया अगाडि बढाएको भए पनि केन्द्रीय कार्यालयका प्रमुख परिवर्तन भएकाले औषधि खरिदमा ढिलाइ भएको उनले स्वीकार गरे।
अहिलेसम्म जिल्लामा करिब तीन हजार २ सय जनाले स्वास्थ्य बीमा गराएका छन्। २०७४ साल असोज २५ गतेबाट सोलुखुम्बुमा स्वास्थ्य बीमा कार्यक्रमको औपचारिक शुरुवात गरिएको थियोे। रासस