गर्मीयामममा फैलन सक्ने महामारीलाई मध्यनजर गर्दै जुम्लामा पूर्व तयारी थालिएको छ । वर्षायाममा मानविय प्रकोप र प्राकृतिक दुवै खाले प्रकोप आउन सक्ने भन्दै सवैलाई सजग रहन निर्देशन गरिएको हो।
जिल्ला प्रशासन कार्यालयमा भएको महामारी प्रकोप रोक्नको लागि बसेको सरोकारवालाको वैठकले जिल्ला स्वास्थ्य कार्यालय जुम्ला, खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालय सात दिनमा कार्ययोजना वनाई दैवीप्रकोप उद्धार समितिमा पेश गर्ने निर्णय भएको हो।
महामारीका क्षेत्रका काम गर्ने सरकारी तथा गैसरकारी कार्यालयले कार्ययोजना बनाएर पेश गर्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले एक हप्ताभित्र महामारी रोक्नको लागि कार्ययोजना निर्माण गरेर सरकारी तथा गैरसरकारी कार्यालयले अनिवार्य रुपमा कार्यक्रम पेश गरेपछि मात्रै अघि बढ्ने निर्णय भएको हो।
प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले सम्भावित प्रकोपलाई लक्ष्य गरी पूर्वतयारीका सुरु गरेको बताए । उनले भने, ‘प्रकोप आएपछि खानेपानी, गाँस, वास र उपचार चाहिन्छ । पहिरोको प्रकोप बढेको छ,विकासका नाममा जताततै डोजरले खोस्रेको छ। यसमा स्थानीय तहका प्रतिनिधी झनै जिम्मेवार वन्न जरुरी छ । प्रकोपमा परेका पिडितलाई एउटै खालको मापदण्ड वनाईनु पर्ने, सवै सेवाग्राही एउटै हुन भन्ने सोचको विकास गरेर अघि वढ्नु पर्नेमा जोड दिए । जवसम्म समन्वय हुँदैन, तवसम्म हामीसँग भएको े स्रोतको उपयोग हुँदैन।’
जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख अंगदवहादुर शाहीले सवै पालिकास्तरमा आवश्यक पर्ने औषधी पठाइसकेको वताए । ‘गाउँपालिकाको औषधी सवै ठाउँमा पुगिसकेको छ नगरपालिकाको स्टोर कक्ष नहुँदा स्वास्थ्य कार्यालयमा राखिएको छ,’ उनले भने, ‘महामारी फैलन सक्ने संभावनाले गर्दा सवै क्षेत्रमा औषधी पु¥याइसकिएको छ।’
पछिल्लो पाँच वर्षमा जुम्लामा कुनै खालको महामारी नफैलिएको भन्दै महामारी प्रकोप पूर्वतयारी कार्ययोजना एक हप्ताभित्रै बनाएर दैवि प्रकोप उद्धार समितीमा पेश गर्ने उनले बताए । भगवती दल गणका निमित्त गणपति पवनजंग थापाले महामारीमा परेकाहरुको लागि उद्धार गर्ने जनशिक्त तयारी अवस्थामा रहेको बताए । उनले भने, ‘मानव निर्मित र प्राकृतिक प्रकोप नियन्त्रणका लागि सवैलाई प्रयोग र परिचालन गर्छौं । उद्धार कार्यका लागि चौविसै घण्टा स्टेनवाई छौं।’
प्रकोप प्रतिकार्यका लागि आवश्यक उपकरणको समेत अभाव देखिएको उनले बताए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक धर्मराज गोसाईले एउटा जिल्लाको दुईटा पालिकामा महामारी फैलन नदिनको लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने जिम्मा लिएको जानकारी गराए।
‘प्रकोप भइहालेमा सवै सरोकारवाला निकाय संग समन्वय र सहकार्य गरेर छलफल गरेर काम गर्छौ,’ उनले भने, ‘जुनसुकै समयमा तयारी अवस्थामा रहेका छौ । मेडिकल टिम वनाउँदैछौ । अस्पताल भित्र र बाहिर हुने जुनसुकै महामारी रोकथामका लागि प्रतिष्ठान प्रतिवद्ध छ।’
जुम्लामा आधाघण्टा भित्रै टिन घर बनाउन सकिने गरि सामाग्री तयारी अवस्थामा छन्। भुकम्प प्रभावित जिल्लामा दिइएको पाल छन। सवै स्थानीय तह, सरकारी तथा गैरसकारी कार्यालय, स्थानीय सवैसंग समन्वय गरेर अघि वढाइने भएको छ।