रौतहटका स्वास्थ्यकर्मी दीलिप साहका १२ वर्षीय छोराको हत्या भएको छ।
रौतहटमा कटहरिया नगरपालिका–९ डुमरिया गाउँका अहेव दिलीप साहका १२ वर्षीय छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणपछि हत्या भएको हो। बालकको शव आज बिहान बागमती नदी किनारको बगरमा भेटिएको छ।
घरबाट झन्डै ३० किलोमिटर पूर्व गढीमाई नगरपालिका वडा ३ र ५ बागमती नदी किनारको बगरबाट बालकको शव बरामद गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक चतुर्भुज ओझाले जानकारी दिए।
टाउकोमा चोट देखिएकाले लाठी अथवा काठले हानेर उनको हत्या हुनसक्ने प्रारम्भिक अनुमान रहेको प्रहरी निरीक्षक ओझाको भनाइ छ।
अपहरण तथा हत्याको आरोपमा प्रहरीले ५ जना स्थानीयलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताए।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको छ।
शनिबार राति बालक खानपिन गरेर आफ्नै घरमा सुतिरहेका थिए। आइतबार बिहान ढिलै गरी उनका दाजु निरञ्जन मोबाइल खाज्दै भाइ सुतेको कोठाभित्र जाँदा मोबाइलसँगै युुवराज बेपत्ता भएको चाल पाएका थिए।
घटनास्थल जिल्ला सदरमुकाम कटहरियाबाट झन्डै ३५ किलोमिटर उत्तर पश्चिममा पर्दछ। कटहरीया नगरपालिकामा अपहरणपछि हत्या भएको यो पहिलो घटना रहेको प्रहरीको भनाइ छ।रासस