उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश नम्बर २ मा छिट्टै सरकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुने बताएका छन्।
मधेसी डक्टर्स एसोसिएसनले आइतबार नेपाल मेडिसिटी अस्पतालमा आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले प्रतिष्ठान निर्माणको काम अगाडि बढ्ने बताएका हुन्।
‘सबै प्रदेशमा प्रतिष्ठान खोल्ने नीति अनुसार प्रदेश २ मा पनि खोलिने छ,’ उनले भने, ‘अब यो काममा मेरो प्रयास अगाडि बढ्छ।’ उनले अन्य प्रदेशमा स्थापना भएका प्रतिष्ठानका समस्या पनि समाधान गर्दै लैजाने बताए।
कार्यक्रममा मन्त्री यादवले जनकपुरलाई स्वास्थ्य हवका रुपमा विकसित गरिने बताए। ‘काठमाडौंमा भन्दा जनकपुरमा प्रचुर सम्भावना छ,’ उनले भने, ‘त्यसकारण जनकपुरलाई स्वास्थ्य हवका रुपमा विकसित गर्दै देशकै लागि उदाहरणिय बनाउनु पर्छ।’
सरकराले सात वटै प्रदेशमा प्रतिष्ठान स्थापना गर्ने नीति अनुसार प्रदेश ७ मा पनि हालसम्म कुनै पनि मेडिकल कलेज वा प्रतिष्ठान स्थापना भएको छैन। धनगढी गेटामा मेडिकल कलेजको काम अगाडि बढीरहेको जानकारी दिँदै मन्त्री यादवले उक्त मेडिकल कलेजसहित दाङको प्रतिष्ठानमा हाल देखिएको समस्या समाधान गर्नतर्फ लाग्ने बताए।
उनले चिकित्सा शिक्षालाई सहज बनाउनु पर्नेमा पनि जोड दिए। ‘डाक्टरी शिक्षालाई निकै जटिल र भेग बनाइएको छ,’ उनले भने, ‘अब यसलाई सहज बनाउनुपर्छ।’ उनले समयसापेक्ष नीति बनाउने कुरामा पनि आफू लागिरहेको जानकारी दिए।