कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्नातक तह (ब्याचलर)मा मिडवाइफरी कार्यक्रम सञ्चालन हुने भएको छ।
नेपाल 4 काउन्सिलको वोर्ड बैठकले कर्णाली प्रतिष्ठानमा स्नातक स्तरको कार्यक्रम सञ्चालनको लागि स्वीकृति प्रदान गरेसंग मिडवाइफरीको पढाइ गर्ने बाटो खुलेको हो।
काउन्सिलले शैक्षिक सत्र २०७५/७६ का लागि प्रतिष्ठानलाई १० वटा सिटको स्विकृती दिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए।
उनका अनुसार प्रसूति तथा स्त्रीरोगको उपचार सेवामा सहज पहुँच भएको र पुर्वधार लगायतका हिसाबले बलियो भएकोले स्नातक स्तरको पढाई शुरु हुने भएको हो । प्रतिष्ठानमा मिडवाइफरी पढाइका लागि दुई जना शिक्षक छन् । एक जना शिक्षक थप राख्नु पर्ने अवस्था छ ।
यसअघि स्नातक स्तरको पढाई गर्न वीर अस्पताल काठमाडौं र धुलिखेल पुग्नु पर्ने वाध्यता थियो । जसका कारणले पढाई खर्च धान्न मुस्किल पथ्र्यो, तर अव कर्णालीमै पढाई शुरु हुने भएपछि विपन्न तर क्षमतावान विद्यार्थीले सहजै पढेर स्वास्थ्य सेवा गर्न पाउने छन्।
यसअघि यहाँ स्टाफ नर्स र एचएको पढाइशुरु भइसकेको छ । आगामी वर्षमा एमडिजपीको कार्यक्रम सञ्चालन गर्न प्रतिष्ठान तिव्र तयारीमा जुटेको छ ।
काउन्सिललाई वस्तुगत विवरण तयार गरि विषय विज्ञवाट सुझाव संकलन भइरहेको छ । यो कार्यक्रमले दुर्गम क्षेत्रमा आवश्यक पर्ने विशेषज्ञ आपुर्तिमा सहजता ल्याउने भएको कर्णाली अस्पतालले जानकारी दिएको छ ।
स्नातक कार्यक्रम शुरु भईसकेपछि उत्पादित जनशक्ति गाउँपालिका र नगरपालिकामा गएर सहजै रुपमा सेवा गर्न सक्ने वातावरण सिर्जना हुने भएको छ । आमा सुरक्षा कार्यक्रम बलियो हुँदै जाने अपेक्षा लिइएको छ।