जिल्लाको दुर्गम चंखेली गाउँपालिका मेल्छामकी १९ वर्षीया वसन्ती शाहीलाई सुत्केरी व्यथाले च्याप्यो तर समयमै उपचार नपाउँदा पेटभित्रै बच्चाको मृत्यु भयो।
पेटभित्र मृत बच्चा बोकेर जोखिममा रहेकी बसन्तीले ५ दिनपछि मात्र उपचार सेवा पाइन्। उनले यो सेवा हुमलामा सञ्चालित एयरलिफ्टिङबाट पाएकी हुन्।
चंखेली गाउँपालिका उपाध्यक्ष विमला शाही, प्रदेश नम्बर ६ का सामाजिक विकास मन्त्री दल रावल र स्थानीयवासी भक्त बहादुर शाहीले उनको उद्धार गरेको हो।
जिल्ला स्वास्थ्य कार्यालय हुम्लामा एयरलिफ्टिङको माध्यमबाट एटिच्युट हेलिकप्टरमा सिमकोट पुर्याइएका बसन्तीलाई त्यहाँ अप्ररेशनका लागि रगत अभवपछि जुम्लास्ति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल पुर्याइयो।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर रञ्जित कुमार यादवका अनुसार वसन्तीको यो पहिलो पटक गर्भ रहेको र बच्चा पेटमै मरेपछि जिल्ला स्वास्थ्य कार्यालय हुम्लाले सुर्खेत क्षेत्रीय अस्पतालमा रेफर गरिएको थियो।
सुर्खेतमा विशेषज्ञ डाक्टर नभएपछि बसन्तीलाई कर्णाली विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पठाइएको थियो।
प्रतिष्ठानमा एक घण्टाको सफल शल्यक्रियापछि वसन्तीको ज्यान जोगिएको थियो।

यसैगरी, असार २ गते शुक्रबार १० बजेबाट सुत्केरी व्यथाले छटपटाइरहेकी चंखेली गाउँपालिका ३ की २४ वर्षीया कल्पना रोकायालाई पनि एयरलिफ्टिङ सेवाले समयमा नै उपचार पाउन सकेकी छिन्। उनी हुम्ला जिल्ला अस्पतालमा सुत्केरी भएकी थिइन्। उनको सहज रुपमा सुत्केरी भएको उनका श्रीमान् कलबहादुर रोकायाले बताए ।
२०७४ साल फागुन १२ गते बच्चा जन्माउँदा उच्चरक्तचापका कारण एक्कासी बेहोस भएकी चंखेली गाउँपालिका –२ की सुन्दरी कामीको पनि हेलिकप्टरमा उद्धार गरी नेपालगञ्जको भेरी अञ्चल अस्पताल पुर्याइएको थियो र उनले सहज रुपमा सुत्केरी सेवा पाउन सफल भइन्।
खार्पुनाथ गाउँपालिका ५ दुर्पाकी लाउरी बुढालाई पनि हेलिकप्टरबाट उद्धार गरी जिल्ला अस्पताल हुम्ला पुर्याएपनि त्यहाँ उपचार हुन सकेन । त्यसपछि उनलाई हेलिकप्टरबाटै नेपालगञ्ज भेरी अञ्चल अस्पताल लाँदै गर्दा हेलिकप्टरमै बच्चा जन्मिएको थियो ।

चंखेली गाउँपालिका ६ की बाटुली शाही पेटमा उल्टो बच्चा बसेको थियो। जोखिम अवस्थमा रहेकी उनलाई पूर्व सांसद रिता शाहीको पहलमा हेलिकप्टरबाटै उद्धार गरेर काठमाडौँ लगिएको थियो।
नेपाल सरकारले दुर्गम कर्णालीका खतरामा रहेका गर्भवती र सुत्केरीको ज्यान जोगाउन एयरलिफटिङ्ग सेवा सेरु गरेको छ। जेखिममा रहेका आमाहरुको जीवन बचाउन हेलीकोप्टर मार्फत सुविधा सम्पन्न अस्पताल पुर्याउने यस्तो व्यवस्था गरिएको हो।
हाल हुम्ला जिल्लाबाट ६ जना सुत्केरी महिलाहरुले नेपाल सरकारबाट उपलब्ध हुने एयरलिफ्टिङ सेवा लिइसकेका छन्।